सत्ताकेन्द्रीत राजनीतिमा नलाग्नू्स् ः कमल थापा
हेटौँडा, २५ जेष्ठ/राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले सत्ता केन्द्रीत फोहोरी राजनीतिमा नलाग्नको निम्ति सबै मुख्य राजनीतिक दलका नेताहरुलाई आग्रह गरेका छन् ।
गणतन्त्र आएपछि हालसम्म ८ वटा सरकार परिवर्तन भैसकेको बताउँदै उनले सरकार परिवर्तनको खेलमा मात्र लागेर मुलुकको विकास हुन नसक्ने धारणा राखे । मङ्गलबार राप्रपा नेपाल मकवानपुरको जिल्ला परिषद् बैठक (जिल्ला सम्मेलन) को उद्घाटन गर्दै उपप्रधान, परराष्ट्र एवम् संघीय मामिला तथा स्थानीय विकास मन्त्री समेत रहेका उनले २०७४ मङ्सीरमा कुनै हालतमा अर्को चुनाव गराउनुपर्ने अवस्था रहेको भन्दै त्यो समयसम्म यहि सरकारको निरन्तरता आवश्यक रहेको औँल्याए ।
‘करिब अबको एक बर्षसम्म सरकार परिवर्तनको फोहोरी खेलमा नलाग्नूस्’, नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रतर्फ लक्षित गर्दै उनले भने, ‘यदि काँग्रेस, एमाले र माओवादी मिलेर सरकार बनाउन चाहनुहुन्छ भने पनि बनाउनूस् । राप्रपा नेपाल जिम्मेवार प्रतिपक्षको भूमिकामा रहेर काम गर्न तयार छ ।’ वहुमतले सरकार चलाउने र अल्पमतले प्रतिपक्षमा रहेर सरकारलाई निगरानी गर्ने नै प्रजातान्त्रिक व्यवस्था भएको टिप्पणी गर्दैै थापाले सरकार जति बलियो हुनुपर्छ प्रतिपक्ष पनि उत्तिकै बलियो हुनुपर्ने, त्यसो नभए सरकार निरंकुश हुने भनाई व्यक्त गरे । संविधान जारी गर्ने क्रममा एक भएका प्रमुख राजनीतिक दल अहिले मिल्न नसक्नु दुःखद् भएको टिप्पणी गर्दै उनले भने, ‘यो संविधान बनाएर के सन्देश दिन खोज्नुभएको थियो ? फेरि पनि अस्थिरता र अराजकताको सन्देश दिन खोजिराख्नुभएको छ ?
संविधान बनाएपछि पनि स्थायीत्व नहुने हो भने, राजनीतिक स्थिरता नहुने हो भने, जनताले चाहे अनुसारको विकास निर्माण नहुने हो भने यो संविधानप्रति वितृष्ण बढ्न कति समय लाग्छ ?’ यस भन्दा अघि बनेका संविधानसंगै जनताले आफूलाई परिवर्तन महसुस गर्न नपाएकोले त्यो संविधान नटिकेको जानकारी गराउँदै थापाले शान्ति स्थायित्व नहुने र विकास नहुने हो भने यो संविधानको भविष्यमाथि प्रश्नचिन्ह खडा हुने ठोकुवा गरे ।
९९ प्रतिशत नेपाली जनताले स्थानीय निकायको चुनाव चाहिरहेको तर्क गर्दै उनले तर ठूला भन्ने पार्टीहरु नै आपसमा विवाद गरिराखेको बताए । संविधान बनाउँदा नै नयाँ व्यवस्था नहुन्जेलका लागि दुई÷अढाई बर्षको लागि भएपनि स्थानीय निकायको चुनाव गराउनुपर्छ भनेर हस्ताक्षर गरेका दलहरु अहिले स्थानीय निकायको चुनाव हुँदैन भन्दै हिँडेको भन्दै मन्त्री थापाले यो संविधानविरोधी कुरा भएको धारणा राखे ।
‘जिम्मेवार राजनीतिक दलका नेताहरुले नै स्थानीय निकायको चुनाव अहिले हुन सक्दैन भन्नु संविधान विरोधी कुरा हो । संविधानको बिरुद्वमा भोट हालेको राप्रपा नेपाल मात्र यतिबेला स्थानीय निकायको चुनाव हुनुपर्छ भन्दै हिँडिरहेको अवस्था छ’ उनले भने ।
राप्रपा नेपाल मकवानपुर अध्यक्ष नवराज बिष्टको अध्यक्षतामा भएको परिषद् बैठकको उद्घाटनमा पार्टी केन्द्रीय सदस्य दीपकबहादुर सिँह, मधु अधिकारी, राजाराम बर्तौला, सांसद् गणेश थापालगायका नेताहरुले समसामयिक राजनीतिक अवस्था, राप्रपा नेपालको भूमिकालगायतको बिषयमा मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा विभिन्न पार्टी तथा संगठन परित्याग गरी करिब एकसय जना भन्दा बढि नेता तथा कार्यकर्ता राप्रपा नेपालमा प्रवेश गरेका थिए । राप्रपा नेपाल प्रवेश गर्नेमा अधिकांश माओवादीका नेता एवम् कार्यकर्ता रहेका छन् । तत्कालीन नेकपा माओवादीका कम्पनी कमाण्डर प्रकाश पाण्डे, मोहन बैद्य निकटको माओवादीको बिद्यार्थी संगठन अखिल क्रान्तिकारीका मकवानपुर अध्यक्ष एवम् केन्द्रीय सदस्य मनकुमार न्यौपाने, काँग्रेसका नेता निर्मल खड्कालगायत रहेका छन् ।
