६९ भूकम्प पीडितलाई मात्र पहिलो किस्ताको रकम
हेटौँडा, ४ साउन/भूकम्प प्रभावितको लगत संकलन गरिएको ११ जिल्ला मध्ये मकवानपुरमा हालसम्म ६९ घरधुरी भूकम्प पीडितलाई मात्र आवास निर्माणको लागि प्रथम किस्ता वापतको भुक्तानी दिइएको छ ।
अन्य जिल्लाको तुलनामा अनुदान सम्झौताको प्रक्रियामा सबै भन्दा पछि परेको मकवानपुरमा मङ्गलबार सम्ममा जम्मा ६९ घरधुरीलाई प्रथम किस्ता वापतको रकम दिइएको हो ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको तथ्याङ्क अनुसार भूकम्प प्रभावित ११ जिल्ला मध्ये भूकम्प प्रभावितको लगत संकलन, रकम वितरण र भुक्तानी दिनको लागि ढिलाई भएको जिल्ला मकवानपुर हो ।
मकवानपुरमा ३० हजार २ सय ३८ लाभग्राही सङ्ख्या रहेकोमा एकहजार ४ सय ८० घरधुरीसंग मात्र अनुदान सम्झौता भएको छ । अनुदान सम्झौतालगायतका कार्यमा सहजीकरण गर्ने जिम्मेवारी पाएको जिल्ला विकास समिति मकवानपुरको आलटाले प्रवृत्तिको कारण समस्या सृजना भएको उल्लेख छ ।
११ जिल्ला मध्ये रामेछापमा अनुदान सम्झौताको कार्य अन्तिमचरण पुगिसक्दा पनि मकवानपुरमा सबैभन्दा कम भूकम्प पीडितसँग सम्झौता भएको तथ्याङ्कमा उल्लेख छ । यसअघि पनि भूकम्प प्रभावित क्षेत्रमा लगत संकलनमा अन्य जिल्लाको तुलनामा मकवानपुरमा ढिलाई भएको थियो । मकवानपुरमा अनुदान सम्झौताका लागि प्रत्येक केन्द्रमा तीन/तीनजना कर्मचारी रहने गरी पञ्जिकरण, गुनासो व्यवस्थापन र प्रशानिक/कम्प्युटर सहायक अधिकृत छनौट भएर हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका र ३५ गाविसमा नै कर्मचारी खटिसकेका छन् । हाल विदामा रहेका मकवानपुरका स्थानीय विकास अधिकारी लक्ष्मणविक्रम थापाले अनुदान सम्झौतामा खासै चासो नदिएको जिविस मकवानपुरका कर्मचारी तथा गाविस सचिवहरुको भनाई रहेको छ ।

