विपी स्मृति दिवसमा विविध कार्यक्रम हुने
हेटौँडा, ४ साउन/नेपाली काँग्रेस मकवानपुरले ३४ औँ विपी स्मृति दिवस विविध कार्यक्रमको आयोजना गरी मनाउने भएको छ ।
विपी स्मृति दिवसको दिन साउन ६ गते मकवानपुरमा वृहत वृक्षरोपण, अन्तरक्रिया, हेटौँडा अस्पतालमा फलफूल वितरण र मनहरी स्वास्थ्यचौकीमा सहयोग हस्तान्तरण कार्यक्रम हुने भएको छ । कार्यक्रमको बिषयमा मंगलबार पत्रकार सम्मेलन गर्दै ६ गते बिहान हेटौँडा–२२ हटियामा रहेको धार्मिक एवम् पर्यटकीय क्षेत्र जुरेथुममा वृहत वृक्षरोपण कार्यक्रम गर्ने तयारी रहेको काँग्रेस मकवानपुर सचिव बुद्व लामाले जानकारी दिए ।
उनका अनुसार जुरेथुममा विभिन्न प्रजातीका करिब ५ सय बिरुवा रोपिने छ । यस्तै नेपाल तरुण दल हेटौँडा उपमहानगर कमिटीको आयोजनामा हेटौँडा अस्पतालका बिरामीलाई फलफूल
वितरण गरिने छ । नेपाली काँग्रेस थाहा नगर कमिटीको आयोजनामा विपीको विचारको सन्दर्भमा अन्तरक्रिया कार्यक्रम हुने जानकारी दिइएको छ । तरुण दल ४ नम्बर क्षेत्रीय कमिटीको आयोजनामा
मनहरीमा रहेको स्वास्थ्यचौकीमा करिब ५० हजार रुपैँया बराबरको अक्सिजनसहितको सिलिण्डर र फलफूल वितरण कार्यक्रम रहेको छ । काँग्रेस क्षेत्र नम्बर–१ का सभापति दामोदर खनालले वृक्षरोपणको तयारीको बिषयमा जानकारी गराएका थिए । उनका अनुसार वृक्षरोपणको लागि जुरेथुममा ५ सय खाल्डो खनिएका छन् । यस्तै जिल्ला वन कार्यालयसंग बिरुवाको निम्ति कुरा गरिएको उनले जानकारी दिए । तरुण दल हेटौँडा अध्यक्ष सुनिल गिरीले हेटौँडा अस्पतालमा हुने वृक्षरोपणमा सहभागिताको निम्ति सबैलाई अनुरोध गरे । पत्रकार सम्मेलनमा काँग्रेस मकवानपुरका निवर्तमान सभापति रघुरमण न्यौपाने, पूर्व सभापति माइकल रामचन्द्र अर्याल, काँग्रेस जिल्ला कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, क्षत्रीय सभापतिहरु, जिल्ला कमिटी सदस्य, विभिन्न भ्रातृ संगठनका प्रमुख तथा प्रतिनिधीलगायतको उपस्थिती थियो ।
