अनेरास्ववियुले गरे गुरुहरुको सम्मान
हेटौँडा, ४ साउन/नेकपा एमाले निकटको अनेरास्ववियुले मकवानपुरका शिक्षा अधिकारी अम्बिकाप्रसाद आचार्य र मकवानपुर बहुमुखी क्याम्पसका प्राध्यापकहरुलाई मिठाई खुवाउँदै गुरु पुर्णिमा मनाएको छ ।
शिक्षा अधिकारी सम्पूर्ण शिक्षक एवम् विद्यार्थीको गुरु भएकोले सबै गुरुको प्रतिनिधित्व गर्दै शिक्षा अधिकारीलाई मिठाई खुवाएको अनेरास्ववियु मकवानपुर अध्यक्ष सन्तोष पौडेलले बताए । शिक्षक र विद्यार्थीको बीचमा नजिकको सम्बन्ध हुनुपर्ने तर्क गर्दै उनले पछिल्लो समय गुरुप्रतिको सम्मानमा कमी हुँदै आएको प्रति चिन्ता व्यक्त गरे । गुरुप्रतिको श्रद्धाभाव देखाउँदै मंगलबार अनेरास्ववियुले जिल्ला शिक्षा कार्यालयमै पुगेर जिशिअ आचार्यसहित सहायक जिल्ला शिक्षा अधिकारीहरुलाई मिठाई खुवाएको हो । अनेरास्ववियु केन्द्रीय सदस्य सुजता पोखरेल, केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष पौडेल, जिल्ला सचिव किसन घिसिङले संयुक्तरुपमा आचार्यलाई सम्मान स्वरुप खादा ओडाएर मिठाई खुवाएका थिए । जिशिअ आचार्यले गुरुको रुपमा सम्मान दिएकोमा खुसी व्यक्त गर्दै अनेरास्ववियुलाई धन्यवाद व्यक्त गरे ।
