सकियो २ बर्षे अङ्ग्रेजी भाषा शिक्षण
हेटौँडा, ४ साउन/हेटौँडामा दुईबर्षसम्म सञ्चालन भएको अङ्ग्रेजी भाषा शिक्षण र प्रविधी सम्बन्धी सिकाई कार्यक्रम सकिएको छ ।
मङ्गलबार एक कार्यक्रमका बीच कार्यक्रमको समापन गरिएको हो । नेल्टा मकवानपुरको आयोजनामा भएको दुई बर्षे अङ्ग्रेजी भाषा शिक्षण सिकाईको समापन कार्यक्रममा अमेरिकी दुतावासका सार्क क्षेत्रीय स्तरको अङ्ग्रेजी भाषा कार्यक्रम प्रमुख रसल बार्जेकले नेपालमा सन् २०११ बाट यो कार्यक्रम सुरु भएको जानकारी दिँदै यो कार्यक्रम सकिएपनि आवश्यकता अनुसार अन्य सहयोगको लागि आफ्नो तर्फबाट सहयोग हुने बताए ।
‘सहयोग सँधै थोरै नै हुन्छ’, उनले भने, ‘अन्य सहयोगको लागि म पहल गर्नेछु।’ मकवानपुरका शिक्षा अधिकारी अम्बिकाप्रसाद आचार्यले अङ्ग्रेजी माध्यममा अध्यापन गराउने शिक्षकहरुलाई दरबन्दी मिलान गरेर गाउँमा पठाउनका लागि समस्या रहेको बताउँदै गाउँमा अङ्ग्रेजी भाषाको अवस्था कमजोर रहेको
स्वीकारे । बिद्यार्थीले पढे मात्र नहुने भन्दै उनले पढाई टिकाउ र बिकाउ हुनु आवश्यक रहेकोमा जोड दिए ।
‘टिकाउ र विकाउ शिक्षाको लागि अङ्ग्रेजी राम्रो हुनु आवश्यक छ’, जिशिअ आचार्यले थपे, ‘अङ्ग्रेजी बोल्नु मात्र पनि ठूलो कुरा हैन । सभ्य व्यवहार र संस्कारलाई समेत ध्यान दिनु आवश्यक छ ।’
हेटौँडाको सिद्धार्थ उच्च मावि, अमर मावि, भुटनदेवी उच्च मावि, बालज्योती मावि, ज्ञानदा मावि र श्रीदेवी निमाविका ४० जना बिद्यार्थीलाई अमेरिकी दुतावासको सहयोगमा अङ्ग्रेजी भाषाका सबैखालका ज्ञान प्रदान गरिएको नेल्टा मकवानपुरका उपाध्यक्ष गणेशप्रसाद हुमागाईले जानकारी दिए ।
२ बर्षको अवधीमा यस शिक्षणबाट अङ्ग्रेजी भाषा, बोल्न र लेख्नका साथै कम्प्यूटरको सीप, नेतृत्व विकाश र सामाजिक काममा सहभागिताको बिषयमा ज्ञान हाँसिल गरेको उनको दावी छ । नेल्टा मकवानपुरका अध्यक्ष सूर्यप्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा नेल्टाका बरिष्ठ उपाध्यक्ष मोतीकला सुब्बा, नेल्टा नेपाल कोडिनेटर सगुन श्रेष्ठ, शिक्षक भानुभक्त पाठक, बिद्यार्थीहरु अदिता नेपाली, आयुष गौतम, अभिभावक शुसिला पाख्रिनलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

