Header Ads


दोस्रो सुमन भोम्जन स्मृति अन्तराष्ट्रिय फुटबल पुस १४ बाट

हेटौँडा, १५ साउन/सुमन भोम्जन स्मृति दोस्रो अन्तराष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता–२०७३ को तयारी थालनी गरिएको छ ।
२०७२ साल बैशाख १२ गतेको विनाशकारी भूकम्पमा परेर निधन भएका खेल पत्रकार सुमन भोम्जन स्मृतिमा गठित खेलकुद प्रतिष्ठानको आयोजनामा हेटौंडामा हुन लागेको दोस्रो संस्करणको लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले पुसको दोस्रो साताको लागि मिति उपलब्ध गराएसंगै तयारी थालिएको हो ।
एन्फाले अन्तर्राष्ट्रिय गोल्डकपका लागि पुस १४ गतेदेखि २३ गतेसम्मको मिति उपलब्ध गराएको प्रतिष्ठान अध्यक्ष भेष खड्कीले जानकारी दिए । प्रतिष्ठानको शनिबार हेटौडामा बसेको बैठकले प्रतियोगिताको तयारीका लागि पहिलो चरणमा मैदान मर्मत गर्ने निर्णय गरेको छ ।
हेटौंडा–१० स्थित फरेष्ट्री खेल मैदान सम्याउने र आवश्यक मर्मत गर्नका लागि प्रतिष्ठानका कोषाध्यक्ष डेविन श्रेष्ठ र सदस्य विकेशलाल श्रेष्ठलाई जिम्मेवारी तोकिएको छ । प्रतियोगिताका लागि तत्काल मैदान मर्मत सुरु गर्ने गरी शनिबार नै प्रतिष्ठान टोलीले मैदानको अवलोकन समेत गरेको छ ।
मैदानको मर्मत र स्तरोन्नितका लागि सक्रिय भएर लाग्ने बताउँदै प्रतिष्ठान अध्यक्ष खड्कीले तत्कालका लागि फरेष्ट्री खेल मैदानको विकल्प नभएकोले मैदानका लागि सम्बन्धित सरोकारवाला निकायसंग समन्वय गरेर अगाडि बढ्ने बताए । ‘प्रतियोगिताको तयारीको बिषयमा एन्फाका पदाधिकारी भेटर छलफल गरेका छौँ, पहिलो चरणको भेटमै हामीलाई मिति उपलब्ध गराइएको छ । अब यही मितिमा प्रतियोगिता गराउनका लागि हामीले तयारी सुरु गर्नेछौं’, प्रतिष्ठान अध्यक्ष खड्कीले भने ‘गतवर्षको प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको कारण एन्फाले हामीलाई विश्वास गरेर मिति उपलब्ध गराएको हो । हामी प्रतियोगितालाई अझै व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउनका लागि क्रियाशील रहनेछौं ।’ प्रतिष्ठान महासचिव सविन न्यौपानेका अनुसार प्रतियोगितामा देशका चर्चित ‘ए’ डिभिजन क्लबसहित भारत, भुटान, बंगलादेश र अफ्रिकन क्लबलाई मैदानमा उतार्ने प्रयास गरिनेछ । यस संस्करणमा प्रतियोगिताको नगद राशीमा बृद्धि गर्ने आयोजकले सोच बनाएको छ ।
यस वर्षको विजेताले नगद पाँचलाख रुपियाँ र उपविजेताले तीनलाख रुपियाँसम्मको पुरस्कार प्रदान गरिने योजना रहेको महासचिव न्यौपानेको भनाई छ । गतवर्षको विजेताले नगद तीनलाख रुपियाँ र उपविजेताले डेढलाख रुपियाँ प्राप्त गरेको थियो ।
गतवर्षको उपाधी मनाङ मस्र्याङ्दी क्लबले जितेको थियो । प्रतिष्ठानले कोषबृद्धिका लागि यसै वर्ष खेल महोत्सव आयोजना गर्ने तयारी समेत गरिरहेको छ ।
खेल महोत्सव मंसिर २ गतेबाट हेटौंडा–४ मा रहेको लोकतान्त्रिक मैदान (हुप्रचौर) मा गर्ने तयारी गरिरहेको बताइएको छ ।
Powered by Blogger.