पहिरोमा पुरिएर एकै घरका तीनजनाको मृत्यु
हेटौँडा, ११ साउन÷मकवानपुरको भीमफेदीमा पहिरोले घर बगाउँदा पाहुना लाग्न पुगेका एकै घरका तीनजनाको मृत्यु भएको छ ।
मङ्गलबार बिहान करिब ४ बजेको समयमा झरीसंगैको पहिरोले भीमफेदी–५ सोलुभञ्ज्याङ बस्ने मनमाया स्याङ्तानको घर पहिरोले बगाउँदा उनको छोरी, ज्वाईं र ५ बर्षीय नातिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृत्यु हुनेमा २५ बर्षका टेकबहादुर रुम्बा, उनको श्रीमति २३ बर्षीया पार्वती रुम्बा र उनीहरुको ५ बर्षीय छोरा विकास रुम्बा रहेका छन् ।
मनमाया र उनको एकजना नाति गोठमा सुतेको कारण उनलाई केही नभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक बामदेव गौतमले जानकारी दिए । गौतमका अनुसार तीनैजनाको शव पहिरोले
पुरिएको अवस्थामा निकालिएको हो । ‘मनमाया र उनको एकजना नाति गोठमा सुतेको कारण उनीहरुलाई केही नभएको र घरमा सुतेका तीनैजनाको मृत्यु भएको छ । पहिरोले पुरिएको अवस्थामा सेना र प्रहरीको टोलीले उनीहरुको शव निकालेको हो’, डिएसपी गौतमले भने, ‘बाँच्न सफल भएकालाई नेपाली सेनाले निर्माण गरेको सामुहिक आवास केन्द्रमा बस्ने व्यवस्था मिलाइएको छ ।’ मृत्यु भएकाहरुको शव कानुनी प्रकृया पूरा गरी आफन्तलाई बुझाइएको प्रहरीको भनाई छ ।

