Header Ads


दलले जनताको समस्या समाधान गर्नसक्नुपर्छ ः खनाल

हेटौँडा, १० साउन/नयाँ शक्ति नेपालका नेता एवम् नेपाल सरकारका पूर्व अर्थ सचिव रामेश्वर खनालले अबको राजनीतिक दल जनताको समस्यालाई व्यवहारमै सम्बोधन गर्ने जनमुखी प्रवृत्तिको हुनुपर्ने औँल्याएका छन् ।
सोमबार नयाँ शक्ति नेपाल मकवानपुरका नेताहरुसंगको भेटमा उनले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई कार्यकालको विकास र विपी कोइराला प्रधानमन्त्री रहँदा नेपालमा भएको विकासको बारेमा प्रशंसा गर्दै सबैले उनीहरुबाट सिको गर्नु आवश्यक रहेकोमा जोड दिए । भट्टराईले आफ्नो कार्यकालमा दीर्घकालिन महत्वको विकास योजना ल्याएको र केही नमुनालायक काम समेत गरेर देखाएको र विपीको पालामा सुरु भएको शैक्षिक अभियान र त्यस बेला खोलिएका विद्यालयका विद्यार्थी नै आजको राज्यसत्ता हाँक्ने व्यक्ति भएको स्मरण गर्दै उनले सकारात्मक कामको प्रशंसा गर्दै सबैले सहयोग गर्नुपर्ने बताए ।
जनताको लागि राम्रो काम गर्ने जो कोसैलाई राम्रो भनेर प्रोत्साहन गर्ने संस्कारको विकास हुनुपर्ने खनालको जोड थियो । नेता खनालले लामो भाषण गर्ने नेता होइन उत्पादनमुखी राजनीतिक एजेण्डा कार्यान्वयन गर्ने नेतृत्व आवश्यक रहेको धारणा राखे । आगामी मंसीरसम्म पार्टीको तल्लो तहमा गएर राजनैतिक आर्थिक बहस छलफल चलाउने बताउँदै उनले आर्थिक एजेण्डालाई नै अग्रगामी सोच भएका दलले आत्मसाथ गर्न सके मुलुकले सम्बृद्धिको खाका तय गर्ने बताए ।
नयाँ शक्तिका जिल्ला संयोजक प्रल्हाद लामिछानेले सहजीकरण गरेको कार्यक्रममा नेताहरु सुरेन्द्र भट्टराई, ज्ञानेन्द्र लामिछाने, छबिलाल वाइवा, सुबोध रिमाल लगायतले विभिन्न जिज्ञासा राखेका थिए । कार्यक्रममा ३ नम्बर प्रदेश सह–संयोजक सोनामसिं स्याडतान, नेताहरु ज्योती रायमाझी, विवेक वाइवालगायतको आतिथ्यता रहेको थियो ।
Powered by Blogger.