एमाले कपको उपाधि नेपाल राष्ट्रिय वाणिज्य संघलाई
हेटौँडा, २५ असार/नेकपा एमाले निकटको नेपाल खेलकुद महासंघ मकवानपुर क्षेत्र नम्बर–३ को आयोजनामा हेटौँडामा भएको प्रथम ‘एमाले कप’ सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि नेपाल राष्ट्रिय वाणिज्य संघ मकवानपुरले जितेको छ ।
शनिबार दिउँसो भएको अनेरास्ववियु क्षेत्र नम्बर ३ संगको उपाधि भिडन्तमा ४–१ गोल अन्तरको जित निकाल्दै संघ विजयी भएको हो । नेपाल राष्ट्रिय वाणिज्य संघको तर्फबाट प्रकाश आचार्य र स्यान्टो आचार्यले एक÷एक गोल गरेका थिए भने सन्तोष थापाले दुईगोलको योगदान दिए । यता अनेरास्ववियुको तर्फबाट एक मात्र गोल अजय थोकरले गरेका हुन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी अनेरास्ववियु क्षेत्र नम्बर–३ का अजय थोकर नै उत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगिताका विजेता र उपविजेता टिमका खेलाडीलाई नेकपा एमालेका केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला इन्चार्ज बिरोध खतिवडा, एमाले मकवानपुर अध्यक्ष मुनु सिग्देल, आयोजक खेलकुद महासंघ मकवानपुर क्षेत्र नम्बर–३ अध्यक्ष मदनकुमार श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका हुन् ।
प्रतियोगिताको समापनका प्रमुख अतिथि एमाले केन्द्रीय सदस्य खतिवडाले यस्ता प्रतियोगिताको माध्यमबाट संगठनको बीचमा भाइचाराको विकास हुनुको साथै एक आपसमा सम्बन्ध प्रगाढ हुन मद्दत पुग्ने विश्वास लिए । समापन समारोहमा खेलकुद महासंघ मकवानपुर सचिव धरम लामाले यस प्रतियोगितालाई निरन्तरता दिनको निम्ति अनुरोध गरे ।
खेलकुद दिवसको सन्दर्भ पारेर भ्रातृ संगठनको बीचमा सद्भाव बढाउने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको महासंघ ३ नम्बर क्षत्रीय उपाध्यक्ष युवराज लामाको भनाई छ । प्रतियोगितामा एमालेको १३ वटा भ्रातृ संगठनको सहभागिता रहेको थियो ।
