Header Ads


एमालेका कार्यकर्ता नेपाली काँग्रेसमा

हेटौँडा, ५ साउन/विगत तीन दशकभन्दा बढी समय नेकपा एमालेको तर्फबाट राजनीतिमा सक्रिय रहेका हेटौंडा–११ का आधा दर्जन व्यक्तिहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । 
हेटौंडा–११ का प्रभावशाली व्यक्तित्व प्रल्हाद सापकोटा, अर्जुन शर्मा कँडेल, लक्ष्मी सापकोटा, भीमसेन सापकोटा, सीता कुँवर, सुभद्रा बर्तौला अधिकारी, इन्द्रप्रसाद गौतमलगायत बुधबारदेखि काँग्रेसमा प्रवेश गरेका हुन् । उनीहरुलाई नेपाली काँग्रेस मकवानपुरका निवर्तमान सभापति रघुरमण न्यौपाने, पूर्वसभापति तथा प्रमुख सल्लाहकार माइकल रामचन्द्र अर्याल, पार्टी सचिव बुद्ध लामा, नगर सभापति आनन्दराम पराजुलीलगायतका नेताले टीका, खादा लगाएर पार्टीमा स्वागत गरेका थिए । 
नवप्रवेशीलाई स्वागत गर्दै निवर्तमान सभापति न्यौपानेले ढिलोचाँडो सबैले राजनीति बुझ्दै आएपछि काँग्रेस प्रवेश गर्ने बताउँदै काँग्रेसमा प्रवेश गर्नेहरुले कहिल्यै निराश र हतोत्साहित हुनु नपर्ने बताए । नवप्रवेशीको तर्फबाट बोल्दै प्रल्हाद सापकोटाले राजनीति खेती भएकोले सबैले मलजल गरे मौलाएर जाने बताए । 
राष्ट्रियताप्रति जिम्मेवार त्यागी नेताहरुको पार्टी भएकोले ३३ वर्षको आफ्नो लामो राजनीतिक जीवनलाई परिवर्तन गरेर प्रजातान्त्रिक पार्टी काँग्रेसमा आएको बताए । लक्ष्मी सापकोटाले महिला मुक्ति, दलित मुक्ति र समग्र देशकै नेतृत्व लिन सदैव सक्षम पार्टी भएकोले काँग्रेस प्रवेश गरेको बताइन् । 
पार्टी सचिव लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला कोषाध्यक्ष गोपी विक, महासमिति सदस्य प्रभातकुमार दाहाल, दिनेश उपाध्याय, भरत पराजुली, संगठन विभाग प्रमुख कृष्णप्रसाद सञ्जेल, जिल्ला सदस्यहरु प्रदीप कोइराला, आनन्द कठायत, राजीव सुवेदी, पूर्वउपसभापति अशोक शाक्य, नगर कोषाध्यक्ष कविन सांगामी, नेपाल तरुण दल जिल्ला सभापति ईश्वर पाठक, नगर सभापति सुनिल गिरी, नेपाल महिला संघ जिल्ला सचिव निलम देवकोटालगायत पार्टीका जिल्लास्तरीय नेताहरुको उपस्थिती थियो ।
Powered by Blogger.