मानवीय कारण बाघ संकटमा
हेटौँडा, १५ साउन/विश्वमा बाघ संकटमा पर्नुको कारण मानवीय कृयाकलाप नै प्रमुख भएको भन्दै मकवानपुरको हाँडीखोलामा भएको एक कार्यक्रमका सहभागीले बाघ संरक्षणमा सबैले चासो दिनु आवश्यक रहेकोमा जोड दिएका छन् ।
चोरी शिकार नियन्त्रण युवा जागरण अभियान हाँडीखोला ५, ६ र ७ को आयोजनामा भएको बाघ संरक्षण सम्बन्धि अन्तरक्रिया कार्यक्रमका सहभागीले बाघ संरक्षणको निम्ति मानिसले आफ्नो व्यवहारमा परिवर्तन गर्नुपर्ने बताएका छन् । पर्सा वन्यजन्तु आरक्षका रेञ्जर सन्तबहादुर थिङले विश्वमा बाघ संकटमा पर्दै गएपनि नेपालमा भने तुलनात्मक रुपमा यसको सङ्ख्यामा बृद्धि भैरहेको बताए । चोरी शिकार, आहाराको कमी र वासस्थानको अभावका कारण बाघ लोप हुँदै गएको उनको भनाई थियो । यस्तै विश्वबाट हाल २ प्रजातिको बाघ लोप हुने अवस्थामा पुगेको थिङले जानकारी दिए । पर्सा वन्यजन्तु आरक्ष अन्तर्गतको उज्वल भविष्य उपभोक्ता समितिका अध्यक्ष गोपाल सुवेदीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा समितिका निवर्तमान अध्यक्ष बालमुकुन्द ढकाल, गेम स्काउट लक्ष्मण पोखरेल, रक्षणी मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका सचिव एकराज पुरी, चोरी शिकार नियन्त्रण युवा जागरण अभियानका अध्यक्ष श्रीकृष्ण ढकाललगायतले कुनै एक व्यक्ति वा संस्थाले चाहेर मात्र बाघ तथा अन्य जीव जनावरको संरक्षण हुन नसक्ने भन्दै संरक्षणको पाटोमा स्थानीय निकायको भूमिका महत्वपूर्ण हुने बताए । विश्व बाघ संरक्षण दिवसको सन्दर्भमा स्थानीयलाई संरक्षणको आवश्यकताको बिषयमा जानकारी गराउने उद्देश्यका साथ अन्तरक्रियाको आयोजना गरिएको बताउँदै युवा जागरण अभियानका सचिव रोशन अर्यालले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै जाने बताए ।
