‘हेटौँडा रंगशालाले कुनै योजनालाई असर गर्र्दैन’
हेटौँडा, २३ असार/वन विज्ञान अध्ययन संस्थान, कृषि तथा वन विश्वविद्यालय हेटौँडाको स्वामित्वमा
रहेको खाली जग्गामा निर्माण हुन लागेको रंगशालाले गौरिटारको राष्ट्रिय खेलकुद प्रतिष्ठान निर्माणमा कुनै असर नगर्ने बताइएको छ ।
हेटौँडा रंगशाला निर्माण समितिले बिहीबार पत्रकार सम्मेलन गर्दै आफूहरुले जनस्तरबाट रंगशाला निर्माण गर्न लागेको प्रष्ट्याउँदै यसले कुनैपनि योजनालाई असर नगर्ने दावी गरेका हुन् । ‘हामीले निर्माण कार्य थालेको रंगशालाको कारण गौरिटार रंगशाला ९राष्ट्रिय खेलकुद प्रतिष्ठान० लाई असर गर्ने हो की भन्ने अन्यौलता रहेको पाइयो’ संयोजक भीमसेन महतले भने, ‘हामीले सुरु गरेको रंगशाला निर्माण कार्य जनस्तरबाट निर्माण सुरु हुन लागेको हो भने गौरिटार सरकारको राष्ट्रिय परियोजना हो ।’ सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले हेटौँडामा आयोजना गरेको अन्तराष्ट्रिय आमन्त्रण कप फुटबल प्रतियोगिताबाट हेटौँडामा एउटा सुविधासम्पन्न रंगशाला आवश्यक देखिएकोले जिल्लाका सबै राजनीतिक दल र विभिन्न संघसंस्थाको भेलाबाट हेटौँडा रंगशाला निर्माण समिति बनेको महतले प्रष्ट्याए । कृषि तथा वनविज्ञान विश्वविद्यालयको स्वामित्वमा रहेको कुष्माण्ड सरोवर त्रिवेणीधाम नजिकैको खाली जग्गामा रंगशाला निर्माण कार्य थालनी गरिएको छ । रंगशाला निर्माणको लागि त्रिभुवन विश्व विद्यालयलाई पत्राचार गरिसकेको बताउँदै उनले कृषि तथा वन विश्वविद्यालय संग समेत समन्वय भैरहेको बताए ।
दुई बर्षभित्रमा पर्खाल र प्याराफिट निर्माण गरिसक्ने समितिको लक्ष्य रहेको छ । पत्रकार सम्मेलनमा मकवानपुर जिल्ला खेलकुद विकास समिति अध्यक्ष माधव तिमल्सिना, कार्यालय प्रमुख राजन दाहाल खुसराज, कोषाध्यक्ष वेष खड्की लगायतको आतिथ्यता रहेको थियो ।
