Header Ads


हाट बजार सञ्चालन गर्ने योजनामा मउवा संघ

हेटौँडा, २९ असार/हप्तामा एकदिन बजार बन्द गर्ने मकवानपुर उद्योग वाणिज्य संघको योजना अनुरुप हेटौँडामा प्रत्येक शनिबार बजार तथा पसल बन्द हुँदै आएको छ । 
शनिबार पसल बन्द गर्नाले विदाको दिन बजारमा केही किन्न नपाइएको भन्दै केहीले शनिबार पनि पसल खोल्नुपर्ने माग समेत गर्दै आएका छन् । यो समस्यालाई ध्यानमा राख्दै मकवानपुर उद्योग वाणिज्य संघले शनिबार हाट बजार सञ्चालन गर्ने योजना बनाएको छ । ‘शनिबार बजार बन्द भएकोले केहीलाई असर पनि परेको छ’, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेले भने, ‘यो अवस्थामा हाट बजारको माग भैरहेको छ । यसलाई जायज ठान्दै हामीले हाट बजार सञ्चालनको तयारी गरिरहेका 
छौँ ।’ 
केही समय अघि मकवानपुर उद्योग वाणिज्य संघको टोलीले नेपालको पश्चिमी जिल्लाहरुमा गरेको भ्रमणका क्रममा समेत त्यस क्षेत्रमा हाट बजार राम्रो सञ्चालन भएको पाइएको न्यौपानेको भनाई छ । ‘गाउँघरमा उत्पादन भएका तरकारी तथा फलफूल र महिला दिदीबहिनीले उत्पादन गरेका सामानलाई सहज रुपमा बिक्री वितरण गर्नको लागि पनि हाट बजार सञ्चालनको आवश्यकता देखिएको छ’, अध्यक्ष न्यौपानेले थपे, ‘यसको लागि आवश्यक स्थानको पहिचान गर्ने काम भैरहेको छ । हाट बजार गर्ने सोचमा उद्योग वाणिज्य संघ अघि बढिरहेको छ ।’ हेटौँडामा रहेको भूटनदेवी उच्च माविको चौरलाई हाट बजार सञ्चालन स्थलको रुपमा विकास गर्न सके राम्रो हुने भन्दै उनले स्थान नपाएमा उद्योग वाणिज्य संघको पल्पसा सभागृहमा नै भएपनि सञ्चालन हुन सक्ने बताए । यसको निम्ति फोहोर व्यवस्थापनका लागि नगरपालिकालाई आग्रह गर्ने योजना रहेको अध्यक्ष न्यौपानेको भनाई छ ।
Powered by Blogger.