Header Ads


आग्रा : सप्तकन्या र साहित्यको दोभान

विष्णुप्रसाद गौतम
जीवन त अनवरत बग्ने अविरल झर्ना पो रहेछ । म एम. ए. पढ्दा पढ्दै अस्ति भर्खरै मकवानपुरको हेटौँडा नगरीमा भित्रिएझैँ लाग्छ । ओहो २९ वसन्त पो ख्याल ख्यालमै वितेछन् । 
मेरा उर्बर जीवनका क्रियाशिल क्षणहरु रित्तिँदै पो गएछन् । मेले त २०४४ असारदेखि हेटौँडा नगरीमा कैदी जी वन पो बिताएछु । चराको उन्मुक्त उडानमा आफू त रम्नै सकिएनछ । फापरबारी, नामटार र पालुङ गाविस बाहेक मैले कतै पुग्ने साइत जुराउनै सकेको थिइन । मेरो मन त प्राकृतिक सुरम्य छटाहरुसँग लडीबुडी खेल्दै रम्न चाहन्थ्यो । यस जिल्लाका विकट प्राकतिक बस्तीहरुमा उन्मुक्त विचरण गर्न लालायित थियो । 
चुच्चे ढुङ्गे उही टुङ्गो भनेझै सधैँ पठनपाठनमै अस्तव्यस्त भएर ठुलो गल्ती पो गरिएछ । यो जिल्लाका प्राकृतिक, साँस्कृतिक अनि ऐतिहासिक धरोहरहरु त पुग्नै भ्याएनछ । संयोगले झर्ना साहित्यक निर्वतमान अध्यक्ष, मेरा अभिन्न मित्र रमेशमोहन अधिकारी सरले केही समय पहिले एस.एल.सी.को कपि परीक्षण गर्ने क्रममा क्षे.शि.नि.मा. ए सर ¤ आग्रातिर घुम्न जाने हो ? भन्नु भएको थियो । मैले पनि आफ्नो अन्तमर्नको चाहनाअनुरुप जाने नि किन नजाने भनेको थिएँ ।
यही अठोट बोकेर झर्नाका अध्यक्ष दीपक गौतम, उपाध्यक्ष विश्वनाथ सञ्जेल दुवै दम्पत्तिहरु, रमेश मोहनजी, कलैयाबाट आउनु भएकी अप्सरा पुडासैनी र म समेत जम्मा सातजना प्रकृतिको काखमा अवस्थित आग्रा गाविसको मोरिया जाने तरखरमा तम्तयार भएका थियाँै । फोन सम्पर्कबाट पक्कापक्की भइसकेकाले सुमोबाट प्रस्थान गर्नका लागि अग्रीम ७ वटा सिटहरु बुकिङ गरिएका थिए । यसै पूर्व योजनाअनुरुप हामी सातैजना २०७३÷०२÷२८ गते शुक्रबार दिनको २ः१५ बजे हेटाँैडाको उद्योग वाणिज्य संघ अगाडिबाट आ–आफ्नो झोलाझाम्टा सहित आग्राका लागि हुइँकियौँ । काठमाडौँबाट विशिष्ट साहित्यकार डा. देवी नेपालज्यू पनि प्रमुख अतिथिका रुपमा आउँदै हुनुहुँदो रहेछ । काठमाडौँ र हेटौँडाको केन्द्रविन्दु मानिने पालुङबाट उहाँ पनि सम्मिलित भए पछि हामी ८ जनाको टोली बन्याँै ।
प्राकृतिक तरेली परेका मनमोहक दृश्यहरु अवलोकन गर्दै हामीले चुनियाँ र अघोर पार गर्दै दामन पुगेर पालुङ नगरपालिकालाई स्पर्श गर्न पायौँ । सिमभञ्ज्याङ भन्दा तल प्रकृतिको काखमा तुमतन्न भएर अवस्थित जापान सरकारको सहयोगमा स्थापित बसिफाँट माविलाई टाढैबाट सलाम गर्दै इच्छा सिद्ध गरिदिने ऋषेश्वरलाई गाडी नमन गर्दै अगाडि बढौँ । केही समयको प्रतीक्षा पछि देवी सर सुमोबाट प्लुक्क आइपुग्नु भयो। उहाँलाई अभिवादन गर्दै उहाँको मुस्कान सँगै हामी पनि मुस्किायाँै ।
पालुङमा सेल तरकारी र अचार खाएर चेतना र जागरणका संवाहक हातमा हयाण्ड माइक बोकेर बोल्नै लागेका जस्ता देखिने रुपचन्द विष्टको सालिक छेउमा उभिएर फोटाहरु खिच्यौँ । टाढैबाट चनवन व्यारेकलाई चियाउँदै उनीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण ग¥यौँ । वर्तमान थाहा नगरपालिका, त्यहाँको भ्यू टावर र बागवानी अनुसन्धान फारम आदिको अवलोकन गर्दै राधाकृष्ण थापा सुमोचालक गुरुज्यू र पालुङका जानिफकार सर ...कुमार नेगी सँग मिठा जिज्ञासाहरु राख्दै सुरुमै प्राकृतिक मनोरम वातावरणको अवलोकन गर्दै चिसो हावाको स्वर्गीय आनन्दको अनुभूति बटुल्दै घर्तीखोला हुँदै डाँडावास हुइँकियौँ । प्राकृतिक हरियालीयुक्त क्षितिजलाई छिचोल्दै डाँडाबास प्लान नेपालद्धारा निर्मित सुन्दरीदेवी मा.वि.को कलात्मक भव्य भवन जहाँ यसै वर्षदेखि सिभिल इञ्जिनियरिङ विषयको पठनपाठन लागिरहेको रहेछ त्यसलाई मन्त्रमुग्ध  भएर हेर्दै त्यहाँबाट देखि गोगने गाविस र  बैकुण्ठधामको चर्चा गर्दै, हाँस्तै रमाउँदै विस्फारित लोचन चारैतिर घुमाउँदै हामी साँझ ७ः०० बजे आग्राको मोरिमा उत्रियौँ । 
हामी गाडीबाट उत्रनासाथ हामीलाई स्वागत गर्न इन्द्रायणी माविका सहदयी अध्यक्ष श्री नारायण कार्की सर स्वागतार्थ उभिएर हाम्रै प्रतीक्षा गरिरहनु भएको रहेछ । उहाँसगै हामी सबै निवर्तमान शिक्षक वर्तमान वि.व्य.स. का अध्यक्ष ज्यूका घरमा पुग्यौँ जहाँ हाम्रो खाने बस्ने व्यवस्था गरिएको रहेछ । दुइ रातसम्म त्यहीँ बसेर घरेलु सुरम्य वातावरणमा रमायाँै । तिनवटा मात्र सुत्ने खाट भएको हाम्रो सुत्ने कोठामा भुइँमा ओछ्यान लगाएर को सुत्ने भन्ने सन्दर्भमा केही बेर निक्कै हाँसोमज्जा गरियो । समस्याको समाधानमा म्याडमहरुले खुवाउनु भएको हार्दिकता र उदारताले सहजै समस्याको समाधान भयो ।  
पशुपतिको जात्रा सिद्राको व्यापार भनेझौँ साहित्यिक सन्दर्भमा आग्रा पुगेका भएपनि त्यहाँ वरिपरिका प्राकृतिक, साँस्कृतिक र धार्मिक स्थलहरु हेर्ने । हाम्रो उत्सुकता अनुरुप २९ गते शनिबार बिहानै प्रसिद्ध सप्तकन्या गुफा हेर्न गयौँ जुन पर्यटकीय दृष्टिकोणले ज्यादै अनुसन्धेय रहे छ । लगभग ४०० मिटर क्षेत्रमा विस्तारित उक्त गुफा ज्यादै अलौकिक र अवर्णनीय पनि रहेछ । पोखराको चमेरे गुफाभन्दा पनि यो अझ आकर्षक र संभाव्यता बोकेको पर्यटकीय क्षेत्र पो रहेछ । यहाँ पनि थुप्रै चमेराहरु बस्दा रहेछन । त्यो अँधेरो गुफामा ती असङ्ख्य जीवहरु के खाएर बाँच्छन त भन्ने हाम्रो चासो र चर्चाको विषय बन्न पुग्यो । हामी धूपी सल्लाको पातहरु पन्साउँदै जितबहादुर वृद्ध बुवाको पाइला पछ्याउँदै, केही बुटयानहरु समाउँदै, कही चप्पल हातमा लिएर बामेसर्दै पाखोमा अवस्थित सप्तकन्या मन्दिरको दर्शन गर्न पुग्यौँ । त्यसपछि सानो दह तरेर नजिकैबाट छङ्छङएको दूध जस्तो सेतो झर्नाको फोटो खिची निस्पट्ट अन्धकारव्याप्त गुफाभित्र मोवाइल र टर्च बालेर जोखिम मोल्दै हामी निर्भीक भई भित्र पस्यौँ । केही सहयात्री साथीहरु डराएर भित्र पस्नु भएनछ । त्यहाँभित्र दुइवटा कुण्डरहेछन् । पूर्वतर्फ कञ्चन निलो पानीको कुण्ड थियो भने पश्चिम तर्फ पोटाशियममुक्त पहेलो पानी भएको कुण्ड थियो । एउटै गुफाभित्र लगभग ५० मिटरको दूरीमा देखिएको यो भिन्नताले हामी चकित भयौँ ।
हाम्रो यात्रालाई पथ प्रदर्शन गर्दै साथ दिनुहुने प्र.अ. नारायण कार्की, अर्जुन थापा, वि.व्य.स.का रमेश सेन्चुरी उहाँका दुइभाइ छोराहरु जस्ले हामी सबैको मोवाइलमा फोटो खिचिदिएर र त्यहाँको महत्वबारे प्रकाश पारेर। हामीलाई तिर्ने नसकिने गुण लगाउने भयो । साथै उक्त गुफा संरक्षण तथा सम्वद्र्धन समितिका अध्यक्ष प्रकाश अर्यालले गुफाको महत्व, एभीन्यूज तथा परातत्व विभाग समेत चासो देखाएर अनुसन्धान गरेको कुरा प्रकाश पार्नु भयो । हामीले जि.वि.स मार्फत पर्यटन विकास बोर्डमा निवेदन दिएर त्यस क्षेत्रको चौतर्फी विकासमा जुट्ने सबैलाई उत्प्रेरित ग¥यौँ । उक्त गुपाmभित्र द्वन्द्व कालमा ३००–४०० मानिसहरु गुफाभित्र बस्ने गरेको रहस्य पनि सुन्यौँ । त्यहाँ चियानास्ताका लागि कुनै व्यवस्था थिएन । यात्रुहरुको आवागमनलाई सहज बनाउने उद्देश्यले धमाधम खुड्किलाहरु बनाइदै रहे । लगभग आउने जाने र घुम्ने क्रममा तिनघण्टा बिताएर लखतरान भई हामी आफ्नो आवासलयमा आइपुग्यौँ ।
वि.सं. २०७३ जेष्ठ २९ गते शनिबार दिउँसो ११ः०० झर्नाको पूर्वनिर्धारित साहित्यिक कार्यक्रम इन्द्रायणी मा.वि.को प्राङ्गणमा संचालन गरियो । डा.देवी नेपालज्यूको प्रमुख आतिथ्य तथा रमेशमोहनजीको विशिष्ट आतिथ्यमा झरनाका अध्यक्ष दीपक गौतमको अध्यक्षतामा भव्य कार्यक्रम सु–सम्पन्न भयो । कार्यक्रम दुइ 
चरणमा विभाजित थियो । पहिलो चरणमा सुन्दरीदेवी मावि, इन्द्रायणी मा.वि. र बुद्ध नि.मा.वि.का विद्यार्थीहरुबाट सड्ढलित कविताहरु प्रतियोगितात्मक रुपमा वाचन गर्न लगाइयो । जम्मा ३५ जनाले नाम टिपाएका भए पनि १९ जना प्रतिस्पर्धाहरुले मात्र कविता र गजल वाचन गरेका थिए । तिनवटै विद्यालयबाट शिक्षक शिक्षिका तथा विद्यार्थीहरुको सघन उपस्थिति रहेको थियो। विद्यालयका प्र.अ. नारायण बहादुर कार्की सरले स्वागत मन्तव्य गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन झरनाका उपाध्यक्ष विश्वनाथ सञ्जेलले गर्नुभएको थियो । कञ्चन अर्याल, रविना सापकोटा र शर्मिला तामाङ आदि चारजना छात्रछात्रा उत्कृष्ट घोषित 
गरिएको गौतमले गरेका थियौँ । पहिलो चरणको प्रतियोगितात्मक कार्यक्रमले दुईघण्टाको समय सीमलाई उल्लङ्घन गरेको थिएन ।
दोस्रो सत्रको कविता तथा गजल लेखन प्रशिक्षण कार्यक्रम अझ रोचक र मनमोहक बनेको थियो । एउटा ठूलो कोठामा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि डा.देवी नेपालज्यूले कविता कसरी लेखिन्छ भन्ने सन्दर्भमा विविध क्रियाकलापहरु गराउँदै अन्तरक्रियात्मक रुपमा प्रशिक्षण दिनु भएको थियो । त्यस्तै गजल विधाका सैद्धान्तिक मान्यताहरु स्पष्टयाउँदै विश्वनाथ सञ्जेलज्यूले प्रशिक्षण दिनु भएको थियो । प्रशिक्षण पछि प्रशिक्षणमा सिकाइका मान्यताहरुका आधारमा आधा घण्टाको समय दिएर प्रतियोगितात्मक रुपमा कविता तथा गजल लेख्न लगाइएको थियो । छोटो समयको प्रशिक्षण कार्यक्रमबाट विद्यार्थीहरु धेरै प्रभावित भएका थिए । वर्णमात्रिक  लोक छन्द अन्तर्गत बालोरी छन्द, सबाई छन्द र झ्याउरे छन्दबारे सूत्रात्मक रुपमा प्रशिक्षण दिइएको थियो । प्रशिक्षणपछि अब त सजिलै कविता, लेखन सकिहालिन्छ नि भन्ने आत्म विश्वासका अभिव्यक्ति विद्यार्थीहरुबाट सुन्न पाउँदा मलाई ज्यादै खुशीलाग्यो। यस्ता कार्यक्रमहरु कम्तिमा एक हप्तासम्म खास खास क्षेत्रमा सञ्चालन गरिदिने हो भने विद्यार्थीहरुको सिर्जनशीलता स्वतः प्रस्फुटित हुने अनुभूति हामीहरुले ग¥यौँ । प्र.अ. नारायणकार्की सरले विद्यार्थीसँगै बसेर आग्राका सन्दर्भमा प्रशिक्षणमा सिकाइएको सूत्रलाई हुबहु अनुसरण गरेर कविता सुनाउँदा हामी सबै आश्चर्यचकित भएका थियाँै । प्रशिक्षण कार्यक्रमबाट उपस्थित सबैमा नयाँ उर्जा र उत्साह थपिएको आभास सजिलै पाइन्थ्यो । लामो समयदेखि विद्यार्थीहरु कार्यक्रममा संलग्न भइरहेकाले उनीहरु भोकाएको महसुस गरी सबैलाई एक एक पुरिया विस्कुट वितरण गरिएको थियो । विभिन्न प्रतिष्ठित व्यक्तिहरु र शिक्षकहरुबाट मन्तव्य रचना वाचन र पुरस्कृत विद्यार्थीहरुलाई पुरस्कार वितरण गरी फोटा खिचेर कार्यक्रमको इतिश्री गर्दा बेलुकाको ५ः३० बजिसकेको थियो । 
कार्यक्रम समापत भए पछि हस्याङफस्याङ गर्दै बासस्थानतिर गई १० पाकेट चाउचाउ पकाएर सबैले बाँडीचुडी मिठो मानेर खायौँ । त्यसपछि इन्द्रायणीदेवीको दर्शनगरी भर्खर धान रोप्न लगाइएको आलोआली कुल्चदै, कतै हिलोमै बाउसे गर्दै चप्पल जुत्ता, हातमा बोकेर पहाडी तरेली कान्लाहर उक्लदै स्वाँ–स्वाँ र Çवाँ –Çवाँ गर्दै हाँडी दह हेर्न गयौँ । एउटा पहरे ढु·ामा बनेको कलात्मक हाँडी आकारको कुण्डको गहिराइ मापन गर्न त असम्भव नै 
भयो । स्थानीय बासिन्दाहरुले निकै गहिरो भएको किम्वदन्ती सुनाए । खोलाको उद्घव त्यही कुण्डबाटै भएकाले खोलाको नाम पनि हाँडीखोला राखिएको रहेछ । प्राचीन कालमा जसले जे माग्यो त्यही पाइने उक्त कुण्डमा कसैले जुठे भाँडा फिर्ता गरिदिएकाले त्यो सिद्धि समाप्त भएको रहस्य सुँनाए । जे होस् त्यो कुण्डको पानी अचाएर साँझपख घुमफिर गर्दै माछा मार्दै, रमाएर फोटो खिच्दै हाँसोठट्टा गर्दै बासस्थानमा फक्र्यौ । झापामा जन्मनु भए पनि देवी सरको पहाडी उकाली ओराली फुर्तीसाथ अगुवाइ गरेर हिँड्ने सामथ्र्य, सरलता, सहजता अनि जस्तोसुकै सुखदुःखमा घुलमेल हुन सक्ने अनौठो विशेषताले म निक्कै प्रभावित भएँ । ७ः३० बजे बासस्थानमा पुगेर खाना खाई राति १२ः० बजेसम्म सबैले पालैपालो मिठा कविता र संस्मरण÷सुनाएर रमाइलो साँझ मनायौँ । 
जेठ ३० गते आइतबार हामी हेटौँडा÷काठमाडाँै फर्कने कार्यक्रम थियो । आफ्नै जन्मथलो मेरो प्यारो ओखलढुङ्गाको जस्तै लाग्ने आग्राको सुरम्य स्वच्छ प्राकृतिक वातावरणले मलाई निक्कै लोभ्यायो । विदाको बचावटका लागि सुमोचालक स्थानीय बासिन्दा राधाकृष्ण थापाज्यूलाई हामीले विहान ६ः०० बजेनै फर्कन अनुरोध ग¥यौँ । दुईवटा टिकेट पहिलेनै काटिसकिएको र गाउँघरको नियमित सेवा भएकाले ७ः३० नबजी फर्कन नमिल्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले आफ्नो पेसाप्रतिको इमान्दारीतालाई गुमाउन चाहनु भएन ।
सुन्दरीदेवी मा.वि.की म्याडम धूमावती भण्डारी र इन्द्रायणीकी सविता अर्यालसमेत काखकाखै कोचिएर बस्दै दोहरी गीत घन्काउँदै डाँडाबासतर्फ आउँदै थियौँ । बाटोमा ढुङ्गा र काँडा तेस्र्याएर एक ठाउँमा बाटो अवरुद्ध गरिएको पन्साउन गुरुजी उत्रदा कालै भएर पाकिरहेको चुत्रो देखेर हामीले मन थाम्न नसकी गाडीबाट उत्रेर हाँगै भाँचेर खाँदै स्वर्गीय आनन्द लिँदै डाँडाबास  आइपुग्यैँ । त्यहाँ आएर हेर्दै लोभलाग्दा ठूला आरु किनेर खाँदै दुईजना म्यामहरुलाई डाँडाबासमै छोडेर हामी ९ः४५ बजे पालुङ आइपुगेर प्रकाश होटलमा टन्न खाना खायौँ । देवीसर हामीबाट छुट्टिएर काठमाडाँैतर्फ लाग्दा हामी रानीबिनाका माहुरी जस्तै भयौँ । जोडी–जोडी साथीहरुलाई एकै ठाउँमा बस्ने व्यवस्था मिलाइएको थियो । हामी हेटौँडाको जुन ठाउँबाट छुटेका थियौँ त्यही ठाउँमा दिउँसो १२ः३० बजे सुमो आएर टक्क उभियो । हामी आ–आफ्नो बासस्थानतिर लम्कियौँ । केही थकित, केही चकित, केही पुलकित अनि केही उत्प्रेरित भएर मैले आग्राबाट केही नयाँ आयाम र अनुभूति थपेर फर्केको महसुस गरिरहेको छु । 
हेटाँैडा क्याम्पस, मकवानपुर    

Powered by Blogger.