नगरपालिकाका भूकम्प पीडितलाई छिट्टै अनुदान
हेटौँडा, ५ भदौ/हेटौँडा उपमहानगरपालिका भित्रका भूकम्प पीडितहरुलाई राज्यको तर्फबाट दिइने अनुदान वितरण प्रक्रिया सुरु गरिने निर्णय भएको छ ।
आइतबार उपमहानगरपालिका कार्यालयमा भएको सर्वपक्षीय छलफलले झुटा विवरण पेश गरेकाहरुलाई सजग गराउने र वास्तविक भूकम्प पीडितलाई केही दिनभित्रै अनुदान वितरण सुरु गरिने निर्णय भएको हो । भूकम्प पीडितको गुनासो समेत संकलन भैरहेको अवस्थामा यहाँबाट सुनुवाई गर्न नसकिने गुनासो समाधानको लागि केन्द्रमा पठाउने निर्णय भएको हेटौँडा उपमहानगरपालिका कार्यालयका सूचना अधिकारी शङ्करप्रसाद उपाध्यायले जानकारी दिए । ‘विवरण मिलेका वास्तविक भूकम्प पीडितलाई अनुदान दिनको निम्ति किन ढिला गर्नु ? भन्ने सहमति भएको छ’, उनले भने, ‘अब केहीदिन भित्रमा नै नगर क्षेत्रका भूकम्प पीडितलाई अनुदान वितरण सुरु हुनेछ ।’ नगरपालिका कार्यालयका कार्यकारी अधिकृत सुदेवकुमार पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस हेटौँडा उपमहानगर समिति सभापति आनन्दराम पराजुली, नेकपा एमालेका गोपालबहादुर श्रेष्ठ, नेकपा माओवादी केन्द्र मकवानपुरका सहसचिव प्रकाश पाण्डे प्रलोकलगायत विभिन्न राजनीतिक दलबाट नगरपालिकामा प्रतिनिधित्व गर्ने प्रतिनिधिहरुको उपस्थिती थियो ।

