उद्योग र मजदुरबीच सहमति
हेटौँडा,२३ साउन/उद्योगमा आन्दोलनरत मजदुर तथा उद्योग प्रशासनबिच जिल्ला प्रशासनमा सहमति भएपछि उद्योग पुन सुचारु भएको उद्योग प्रशासनले जनाएको छ ।
मजदुर र उद्योग प्रशासनबिच आवासकोषको सन्दर्भमा भएको निर्णय कार्यान्वयन गर्ने, ७ कर्मचारीको निलम्बन फुकुवा गर्ने, सौदावाजी सहमतिको २ बर्षसम्म हड्ताल नगर्ने, व्यवस्थापनले उद्योग सूचारु गर्ने निर्णय भएको छ । उद्योग व्यवस्थापनले आफुले गरेका सहमतिसम्बन्धी निर्णय ३० दिनभित्र कार्यान्वयन गर्ने भएको छ ।
आइतबार प्रशासनको रोहवारमा राजनीतिक दलका प्रतिनिधी, उद्योग संघ मकवानपुर, मकवानपुर उद्योग वाणिज्य संघ, टे«ड युनियन र मजदुर प्रतिनिधिबीच छलफल भएको थियो । उद्योगले माग पूरा गराउन बुधबार वार्ता गर्ने अन्तिम मिति तोकिएकोमा मंगलबार नै उद्योगले सूचना टाँस गरी कामदारहरु लालकृष्ण प्याकुरेल, जयराम धिताल, उद्धव पहाडी, चित्तबहादुर विक, राम सापकोटा, चन्द्रप्रसाद सापकोटा र रविबाबु मल्ललाई निलम्बन गरेको थियो । गत जेष्ठ १६ गते व्यवस्थापन र उद्योगबीच उद्योगले बन्द गरेको घरकर्जा, ऋण पुनः खोलिन, भूकम्पपीडितलाई २ लाख अनुदान दिने, घरकर्जा ऋण लिएका कर्मचारीले लिएको ऋण तिरेपछि फिर्ता हुनुपर्ने गरी ३ बुँदै सहमति भएपनि कार्यान्वयन नभएको भन्दै उनीहरु एक महिना धर्नामा बसेका थिए ।
यता २८ दिनदेखि उत्पादिन सामग्री निर्यात गर्न नपाउँदा बाध्य भएर उद्योग बन्द गर्नुपरेको उद्योग व्यवस्थापनले जनाएको छ । महिना दिनसम्म वार्ता चल्दा पनि मजदुरहरुसँग सहमति भएन तर उद्योगभित्र करोडौं रुपैयाँको सामग्री थन्किए बस्यो, उद्योग ब्यवस्थापन स्रोतले भने ‘उत्पादिन सामग्री राख्ने ठाउँ समेत अभाव हुन थालेपछि उद्योग बाध्य भएर बन्द गरेको उद्योग प्रशासनले जनाएको थियो ।
एक दिन उद्योग बन्द हुँदा ५० लाख रुपैयाँ बढिको नोक्सानी हुने उद्योग व्यवस्थापनले जनाएको छ ।

