मकवानपुरमा गुनासो सुन्दै भूकम्प पीडितको अनुदान सम्झौता गरिने
हेटौँडा, २४ साउन/अन्य जिल्लामा अनुदान सम्झौताको काम टुङ्गिने अवस्थामा पुगिसक्दा मकवानपुर जिल्लामा अब भूकम्प पीडितको गुनासोको सुनुवाईसँगै अनुदान सम्झौता कार्यलाई तिब्रता दिइने भएको छ ।
भूकम्प प्रभावित ११ जिल्ला मध्ये मकवानपुरमा सबैभन्दा कम अनुदान सम्झौता भएपछि सांसदको संयोजकत्वमा गठित समितिले यस्तो निर्णय गरेको हो । जिल्ला विकास समिति मकवानपुरमा सोमबार बसेको सर्वदलीय बैठकले गुनासो संकलन र वर्गीकरणसंगै अनुदान सम्झौतालाई तिब्रता दिने निर्णय गरेको सांसद अनन्त पौडेलले जानकारी दिए ।
वैठकले सात दिनभित्र गुनासो संकलन गरी स्थानीयस्तरमा समाधान हुनसक्ने गुनासोको सुनुवाई गर्ने र नहुनेको राष्ट्रिय पुननिर्माण प्राधिकरणमा पठाउने निर्णय गरेको छ । वैठकमा सांसद पौडलले लाभग्राही सूचीमा परेकाहरुको अनुदान सम्झौता कार्यलाई कुनैपनि वहानामा रोक्न नहुने बताउँदै गुनासोहरुको सुनुवाईका लागि पहल गर्ने बताए । मकवानपुरका प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर विश्वकर्माले अनुदान सम्झौतालाई प्रभावकारी बनाउन राजनीति दलसँगै सरोकारवाला निकायको सहयोग आवश्यक हुने बताए ।
वैठकमा सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त, भुकम्पीय आवास पुननिर्माण आयोजनामा प्रमुख निर्मल प्याकुरेल, हेटौँडा उपमहानगरपालिका कार्यालयका कार्यकारी अधिकृत सुदेवकुमार पोखेरेल, नेपाली काँग्रेस मकवानपुरका पूर्व सभापति माइकल रामचन्द्र अर्याल, नेकपा एमालेका उपाध्यक्ष बद्री लम्साल, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व सभाषद् प्रेमबहादुर पुलामी, राप्रपा नेपालका अध्यक्ष रामहरि न्यौपाने, राप्रपाका क्षत्रीय अध्यक्ष सीताराम बर्तौला, नेकपा मालेका सचिव भीमसेन महत, जनमोर्चाका अध्यक्ष लक्ष्मण विष्टलगायतको उपस्थिति रहेको थियो । लाभग्राही सूचीमा परेकाहरुलाई दुई÷दुईलाख रुपियाँ अनुदान दिने गरी मकवानपुरका लागि एक अर्ब ४७ करोड नौलाख ५० हजार निकासा भईसकेको छ । मकवानपुरमा ३० हजार २३८ लाभग्राही मध्ये दुईहजार ७८० जनासँग मात्र अनुदान सम्झौता भएको छ ।
१४ हजार एकसय २४ गुनासोहरु संकलन भएका छन् । मकवानपुरमा भूकम्प पीडितहरुको लागि अनुदान सम्झौता गर्न पञ्जीकरण, गुनासो व्यवस्थापन र प्रशानिक एवं कम्प्युटर सहायक अधिकृत गरी एकसय ६२ कर्मचारी खटिएका छन् । यसैबीच थाहा नगरपालिकामा अनुदान सम्झौता कार्य सुरु भएको छ ।

