भूकम्प पीडितलाई छिटो राहत देउ : नयाँ शक्ति मकवानपुर
हेटौँडा, ७ भदौ/नयाँ शक्ति नेपाल पार्टी मकवानपुरले भूकम्प पीडितलाई राज्यको तर्फबाट आवास निर्माणको निम्ति दिइने अनुदान वितरणमा ढिलाई भएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।
मङ्गलबार बिहान मकवानपुरका प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर विश्वकर्मालाई ज्ञापनपत्र बुझाउँदै नयाँ शक्तिले नेपालमा भूकम्प गएको १६ महिना बितिसक्दा पनि पीडित नागरिकले आवश्यक सहयोग नपाउनु दुखद् भएको बताएको हो । पार्टीका जिल्ला संयोजक प्रल्हाद लामिछानेले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन भै थालेको पुनर्निर्माण कार्य पनि पारदर्शी र पीडितमैत्री नभएको गुनासो आइरहेको बताउँदै यस्तो अवस्थामा वास्तविक भूकम्पपीडितको सट्टा गैरपीडितले पाउनु गलत भएको भनाई व्यक्त गरे ।
‘एकतातर्फ अनुदान वितरणमा भैरहेको अधिक ढिलाई र अर्कोतर्फ वास्तविक पीडितहरुको नाम छुट्नुले
सरकारप्रति गुनासो र आक्रोश बढाएको छ’, ज्ञापनपत्रमा भनिएको छ, ‘छुटेका भूकम्पपीडितको नाम समेत समावेश गराई यथाशिघ्र पारदर्शी ढङ्गबाट अनुदान वितरण कार्यलाई निरन्तरता दिन पीडित जनताको तर्फबाट हार्दिक अनुरोध गर्दछ ।’
नयाँ शक्तिले छुटेका भूकम्प पीडितहरुको नाम समेत समावेश गराई पारदर्शी ढंगबाट अनुदान वितरणका लागि अनुरोध गरेको हो । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी विश्वकर्माले मकवानपुरमा अनुदान वितरणको प्रक्रिया अघि बढेको भन्दै नीतिगत समस्यालाई समाधान गर्दै निरन्तर काम अघि बढाउने बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ४५ दिनभित्र पहिलो किस्ता रकम वितरण गर्न दिएको निर्देशन अनुसार नै काम अघि बढेको भन्दै स्थानीय तहमा देखिएका समस्या समाधानको लागि समेत पहल भैरहेको बताए । छुटेका भूकम्प पीडितका निवेदन सुनुवाईको काम पनि भईरहेको जानकारी दिंदै विवाद नरहेका पीडितलाई राहत वितरण गर्ने र विवाद रहेका विषयलाई सम्बोधन गर्दै लैजाने तर्फ मकवानपुर प्रशासनले पहल गरिरहेको प्रतिक्रिया दिए ।

