विद्युतको समस्या समाधान गर्न युवा संघको ज्ञापन
हेटौँडा, २६ साउन/नेकपा एमालेको युवा दस्ता युवा संघ नेपाल मकवानपुर ४ नम्बर क्षेत्रीय कमिटीले क्षेत्र नम्बर ४ अन्तर्गतको हाँडीखोला, मनहरी, राक्सिराङ, सरिखेत र काँकडाका बासिन्दाले विद्युतको सन्दर्भमा खेप्नुपरेको समस्याको बिषयमा विद्युत प्राधिकरण हेटौँडामा ज्ञापनपत्र बुझाएको छ ।
केन्द्रका प्रमुख ऋषिकुमार वर्नवाललाई ज्ञापनपत्र बुझाउँदै मनहरीमा रहेको फ्युज शाखा व्यवस्थापन गर्नुपर्ने, मनहरीबाटै नियमित महसुल संकलन गर्नुपर्ने, विद्युत क्षमता बृद्धि गर्नुपर्नेलगायतका माग राखेका हुन् । मनहरीमा रहेको फ्युज शाखामा २४ सै घण्टा कर्मचारी नहुँदा सवारी दुर्घटना तथा अन्य कारण विद्युत प्रवाहमा हुने गरेको अवरोध मर्मत गर्न घण्टौँ लाग्ने भएकोले २४ घण्टा नै कर्मचारी रहने व्यवस्था गर्न ज्ञापनपत्र मार्फत माग गरिएको छ ।
यस्तै जिम्मेवार कर्मचारी राखेर अरु कार्यालय झैँ समुदायसंग घुलमिल र समन्वय गरी बस्ने वातावरणको विकास गर्नुपर्ने, मनहरीबाटै मिटर जडानबारे जानकारी दिने, फारम संकलन गर्ने तथा अन्य आवश्यक सेवा दिनुपर्ने ४ नम्बर क्षेत्रीय अध्यक्ष सुदीप लामाको भनाई छ । राजमार्ग क्षेत्र भएकाले जुनसुकै बेला हुन सवारी दुर्घटनाका कारण विद्युत प्रवाह रोकिन सक्ने भएकाले मर्मत सम्भारका लागि एउटा सवारी फ्यूज शाखा
मनहरीमा नै राख्नुपर्ने बताए । मनहरी फ्युज शाखाबाट अहिले महिनाको ३÷४ दिन मात्रै बिद्युत महसुल संकलन गर्ने गरेकोले महिनाभरी नै महसुल संकलनको व्यवस्था गर्नुपर्ने उनीहरुको माग रहेको छ । कार्यालय प्रमुख ऋषिकुमार वर्नवालले गुनासोहरु जायज भएको भन्दै समस्या समाधानमा पहल हुने आश्वासन दिए । कर्मचारी र आवश्यक स्रोत साधनको अभावका कारण समस्या भैरहेको उनको भनाई रहेको छ ।
ज्ञापनपत्र बुझाउने कार्यक्रममा युवा संघ जिल्ला अध्यक्ष सन्तोष चौलागाईं, सचिव लक्ष्मण उप्रेतीलगायतका युवा नेताहरु पुगेका थिए ।

