Header Ads


हाँडीखोलामा परेको भूकम्पपीडितको गुनासो जिविसलाई

हेटौँडा, २६ साउन/भूकम्पको क्षतिको बिषयमा मकवानपुरको हाँडीखोलामा परेको उजुरी गाविस सचिव सहितको स्थानीय राजनीतिक दलको टोलीले जिल्ला विकास समिति मकवानपुरमा बुझाएको छ । बुधबार जिविस मकवानपुर आएका उनीहरुले योजना अनुगमन तथा प्रशासकीय अधिकृत किसान न्यौपानेलाई एकहजार ७ सय जनाको उजुरी बुझाएका हुन् । हाँडीखोला गाविस सचिव राजु आचार्यका अनुसार प्रारम्भिक तथ्याङ्क अनुसार ४ सय २५ जनाको पूर्ण र ६ सय २८ जनाको आंशिक क्षतिको विवरण आएको थियो । यस्तै पछिल्लो समय राज्यको तर्फबाट भएको तथ्याङ्क संकलनको क्रममा एकहजार ८ जनाको घर पूर्ण क्षति भएको विवरण प्राप्त भएको थियो । 
भूकम्प पीडितसंगको योजना सम्झौता सुरु हुँदै गर्दा स्थानीयले गाविस कार्यालयमा तालाबन्दी गर्दै वास्तविक भूकम्प पीडितको नाम छुटेको भन्दै यथार्थ छानबीन गर्न माग गरेका थिए । त्यस क्रममा छुटेका भूकम्प पीडितको गुनासो सुन्ने गरी गत साउन १२ गतेदेखि १८ गतेसम्म गुनासो संकलन गरिएको थियो । उक्त क्रममा परेका एकहजार ७ सय उजुरी जिविसमा बुझाइएको हाँडीखोला गाविस सहायक बिदुर पाठकले जानकारी दिए । गुनासो बुझ्दै योजना अनुगमन तथा प्रशासकीय अधिकृत किसान न्यौपानेले यो देशव्यापी समस्या भएको बताए ।  उनले नक्कली भूकम्प पीडितको बिषयमा बेनामी उजुरी समेत दिन सकिने व्यवस्था भएको जानकारी दिँदै वास्तविक भूकम्प पीडित सरकारले दिने अनुदानबाट छुट्न नहुने भनाई व्यक्त गरे । 
Powered by Blogger.