Header Ads


आधुनिकको विजयी सुरुवात

हेटौँडा, २७ साउन/हेटौंडामा बिहीबारबाट सातौं ‘कोकाकोला कप बिद्यालय स्तरीय फुटबल प्रतियोगिता–२०७३’ सुरु भएको छ । 
प्रतियोगितामा साविकको विजेता आधुनिक राष्ट्रिय उमाविले विजयी सुरुवात गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा), युवा तथा खेलकुद मन्त्रालय र कोकाकोला नेपालका संयुक्त सहयोगमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा आधुनिकले श्रमिक मावि कर्रालाई २–० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो । 
हेटौंडाको औद्योगिक क्षेत्रस्थित खेल मैदानमा भएको खेलमा आधुनिकका लागि सुजनकुमार लामाले दोस्रो मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । खेलको २७ औं मिनेटमा गोल गर्दै आधुनिकका कबिर भ्लोनले अग्रता दोब्बर पार्दै जित सुनिश्चित गरे । प्रतियोगिताको उद्घाटन जिल्ला खेलकुद विकास समिति मकवानपुर अध्यक्ष माधव तिमल्सिनाले गरेका हुन् । जिल्ला आयोजक फुटबल संघ मकवानपुर अध्यक्ष राजेन्द्र श्रेष्ठको अध्यक्षतामा उद्घाटन समारोह भएको थियो । प्रतियोगितामा जिल्लाका १० विद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगिताको बिजेताले भदौ ५ गतेबाट रौतहटमा हुने दोस्रो चरणको प्रतियोगितामा सहभागिता जनाउने मौका प्राप्त गर्नेछन् । प्रतियोगिताको उद्घाटन समारोहमा मकवानपुर जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख राजन दाहाल खुसराज, खेलकुद पत्रकार मञ्च मकवानपुरका अध्यक्ष राजन दाहाल रसिक, पत्रकार महासंघ मकवानपुरका कार्य समिति सदस्य गणेशदर्पण अधिकारी, फुटबल संघका पदाधिकारीलगायतको आतिथ्यता रहेको थियो ।
Powered by Blogger.