Header Ads


भदौ २९ देखि हेटौँडामा उद्योग संघको दशै“ मेला

हेटौँडा, २७ साउन/उद्योग संघ मकवानपुरको आयोजनामा दशैँको पूर्वसन्ध्यामा हेटौँडामा औद्योगिक प्रदर्शनी एवम् दशैँ महोत्सव–२०७३ हुने भएको छ ।
जिल्लाका उद्योग, कलकारखाना र औद्योगिक प्रतिष्ठानहरुको प्रदर्शनी एवम् नेपालीहरुको महान पर्व विजया दशमीको पूर्व सन्ध्यामा जिल्लाबासीहरुले दैनिक उपभोग्य वस्तु सहज र सरल रुपमा पाउन् भन्ने उद्देश्यका साथ भदौ २९ गतेदेखि असोज ९ गतेसम्म हेटौँडामा महोत्सव गर्न लागेको बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको हो । औद्योगिक प्रदर्शनीले जिल्लामा रहेका सम्पूर्ण कलकारखानाको जानकारी प्राप्त गर्न सकिने र देशकै सबै भन्दा ठूलो र पुरानो इतिहास बोकेको औद्योगिक क्षेत्र र औद्योगिक वातावरणको देशैभर जानकारी गराउन सकिने औद्योगिक प्रदर्शनी तथा दशैँ महोत्सवका संयोजक समेत रहेका उद्योग संघ मकवानपुरका अध्यक्ष नवराज अर्यालको विश्वास रहेको छ ।
यस क्षेत्रमा राष्ट्रिय तथा अन्तराष्ट्रिय उद्योग कलकारखानाको लगानी भित्रिने विश्वासका साथ मेला आयोजना गर्न लागिएको उनको भनाई छ । मकवानपुरमा राज्यले थप औद्योगिक क्षेत्र व्यवस्थापनको लागि जग्गा समेत व्यवस्था गरिसकेको अवस्थामा यस प्रदर्शनीले स्वदेशी तथा विदेशी लगानी भित्रिने वातावरण बन्नुको साथै यस क्षेत्रको प्रचारप्रसारले गर्दा यहाँको सकारात्मक सन्देश समेत जाने आयोजकले विश्वास लिएको छ ।
प्रदर्शनीमा राष्ट्रिय तथा बहुराष्ट्रिय गरी एकसय भन्दा बढी उद्योगको उद्योगको सहभागिता रहने छ भने अन्य अत्यावश्यक सेवा, कृषि, आइटी, खाद्यान्न, लत्ताकपडा, होटल समेत गरी ४ सय वटा स्टल रहने उद्योग संघका महासचिव स्वागतराज प्याकुरेलले जानकारी दिए । प्रदर्शनी हेटौँडाको टीसीएनको जग्गामा गर्ने बताइएको छ । मेला आयोजनाको निम्ति एक करोड खर्च हुने आयोजकले अनुमान गरेको छ ।
पत्रकार सम्मेलनमा उद्योग संघका निवर्तमान अध्यक्ष ऋषिराम घिमिरे, पूर्व अध्यक्ष माधव अधिकारी, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेलगायतले उद्योग संघले पहिलो पटक आयोजना गर्न लागेको मेलामा आम मकवानपुरबासीले सहयोग गर्नुपर्ने धारणा राखे ।

यो बर्ष मेलैमेला
हेटौँडा÷मकवानपुरमा यस बर्ष ५ वटा मेला तथा महोत्सव हुने भएको छ । उद्योग संघ मकवानपुर, थाहा नगर उद्योग वाणिज्य संघ, सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठान, निर्माण व्यवसायी संघ मकवानपुर र उद्योग वाणिज्य संघ पश्चिमी क्षेत्र समिति मनहरीको आयोजनामा यस बर्ष मकवानपुरमा मेला तथा महोत्सव
हुँदैछ ।
उद्योग संघले पहिलो पटक आगामी भदौ २९ गतेदेखि असोज ९ गतेसम्म हेटौँडाको टीसीएनको जग्गामा मेला आयोजना गर्ने तयारी थालेको छ भने थाहा नगर उद्योग वाणिज्य संघको आयोजनामा पालुङको इन्द्रायणी चौरमा भदौको ३० गतेदेखि असोज ९ गतेसम्म थाहा महोत्सवको आयोजना गर्ने गरी तयारी थालेको
छ । यस्तै सुमन भोम्जन स्मृति प्रतिष्ठानको आयोजनामा मकवानपुरमा पहिलो पटक खेलकुद तथा व्यापार मेला हुने भएको छ । मङ्सीर २ देखि १३ गतेसम्म हेटौँडाको हुप्रचौरमा गर्ने गरी तयारी थालिएको प्रतिष्ठानका अध्यक्ष भेष खड्कीले जानकारी दिए । यस्तै निर्माण व्यवसायी संघ मकवानपुरको आयोजनामा हुप्रचौरमा नै पुष ७ देखि १७ गतेसम्म राष्ट्रिय निर्माण तथा औद्योगिक व्यापार मेला गर्ने तयारी भैरहेको संघ अध्यक्ष आनन्दराम पराजुलीको भनाई छ । यसै बर्ष मकवानपुरको पश्चिमी क्षेत्र मनहरीमा मनहरी महोत्सवको आयोजना हुँदैछ । मकवानपुर उद्योग वाणिज्य संघ पश्चिमी क्षेत्र समिति मनहरीले माघ १४ देखि २१ गतेसम्म महोत्सवको आयोजना गर्न लागेको हो । विभिन्न संघसंस्थाको आयोजनामा हुँदै आएको मेला तथा महोत्सवमा नयाँ केही नहुने गरेको सर्वसाधारणको गुनासो रहेको छ ।
Powered by Blogger.