Header Ads


भदौ १५ मा पनि पुनर्संरचनाको बिषय नटुङ्गिने संकेत

हेटौँडा, ८ भदौ/स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिले गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सीमाना निर्धारणको प्रारम्भिक कार्य गरी आयोगलाई सिफारिस बुझाउनको निम्ति दिइएको समयसीमा भदौ १५ सम्मको लागि थपिएको छ । 
पुनर्संरचनाको बिषयमा राजनीतिक दलको आ–आफ्नै अडान र फरक फरक धारणाका कारण थपिएको समयसीमामा पनि स्थानीय तहमा छलफल र अन्तरक्रिया नहुने लगभग पक्का भएको छ । आयोगलाई सिफारिस पठाउनका लागि गत साउन ३२ गतेसम्मको समय तोकिएको भएपनि उक्त समयमा तोकिएको समयमा सिफारिस नआएको भन्दै आयोगले १५ गतेसम्मका लागि समय तोकेको हो । यो समयसम्म मकवानपुरमा जिल्लास्तरीय अन्तरक्रिया र छलफल मात्र भएका छन् । ‘पहिलाको सेड्युल अनुसार हामी जान सकेनौँ । राजनीतिक दलसंगको छलफलका क्रममा नै छौँ’, स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समिति मकवानपुरका सदस्य सचिव किसान न्यौपानेले भने, ‘पुन ः तोकिएको समयसीमा सम्ममा पनि केन्द्रमा प्रतिवेदन पठाउन सकिएला जस्तो छैन ।’ केन्द्रमा नै राजनीतिक दलको बीचमा फरक फरक धारणा रहेको र यहाँ आयोजना गरिने छलफलमा ती राजनीतिक दलका प्रतिनिधिले सोही अनुरुपको धारणा प्रश्तुत गर्ने निश्चित भएकाले यो अवस्थामा अहिले यहाँ छलफल गर्नुको कुनै औचित्य नहुने उनको भनाई छ । 
‘हामी तल्लो तहसम्म जान सकेका छैनौँ । राजनीतिक दलको बीचमा एकरुपता भएपछि मात्र काम अघि बढाउने भन्ने कुरा हो’, न्यौपानेले थपे, ‘गाउँस्तरमा आयोजना गरिने छलफलमा समस्या नआओस् भन्नका लागि यसो गरेका हौँ ।’ 
राजनीति दलको सहमति बेगर स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिले मात्र केही गर्न नसक्ने भएकाले दलको साझा धारणा कुरिरहेको उनको भनाई छ ।
Powered by Blogger.