Header Ads


महासन्धीको पक्ष राष्ट्र बन्न इन्सेकको अनुरोध

हेटौंडा, १४ भदौ/मानव अधिकारको क्षेत्रमा काम गर्दै आएको इन्सेकले नेपाल सरकारलाई बलपूर्वक बेपत्ता पारिएका सबै व्यक्तिहरुको संरक्षण सम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धी २००६ मा हस्ताक्षर गर्दै नेपाललाई उक्त महासन्धीको पक्ष राष्ट्र बन्न अनुरोध गरेको छ ।
अन्तर्राष्ट्रिय बेपत्ता दिवसको दिन मंगलबार इन्सेकले ७५ जिल्लाकै प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । मकवानपुरमा इन्सेक प्रतिनिधि प्रताप विष्टले मकवानपुरका प्रजिअ डा. मानबहादुर विश्वकर्मामार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र पेश गरेका हुन् । २०५२ सालदेखि १० वर्ष सशस्त्र द्वन्द्वको समयमा करिब १७ हजार नागरिकको ज्यान गएको र करिब १ हजार नागरिक बेपत्ता पारिएको सन्दर्भलाई उल्लेख गर्दै नागरिक बेपत्ता भइरह“दा पनि राज्य चुप लागेर बस्नु गैरजिम्मेवारिपनाको पराकाष्ठा भएको इन्सेकले ठहर गरेको छ । 
सशस्त्र द्वन्द्वबाट शान्तिपूर्ण राजनीतिमा आएलगत्तै तत्कालीन विद्रोही र राज्यपक्ष दुबैले बेपत्ता नागरिकको विषयमा सार्वजनिक गर्नुपर्ने धारणा उल्लेख गर्दै इन्सेकले ज्ञापनपत्रमा लेखेको छ, ‘२०६३ साल मंसिर ५ गते नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीको बीचमा विस्तृत शान्ति सम्झौता भएको करिब १० वर्ष पुग्न लाग्दा पनि आफ्नो तर्फबाट बेपत्ता पारिएका नागरिकहरुका बारेमा कुनै कुरा सार्वजनिक गरेका छैनन्, र यो गैरजिम्मेवारीको पराकाष्ठा हो ।’
Powered by Blogger.