१३९२ भूकम्प पीडितले बुझे पहिलो किस्ताको रकम
हेटौँडा, ८ भदौ/मकवानपुरमा हालसम्म एकहजार ३ सय ९२ जना भूकम्प पीडितले पहिलो किस्ता वापतको रकम बुझेका छन् ।
३० हजार ३ सय २२ जना भूकम्प पीडित रहेकोमा बुधबारसम्ममा एकहजार ३ सय ९२ जना भूकम्प पीडितले पहिलो किस्ता वापतको रकम वापत ६ करोड ९६ लाख रुपैँया बुझिसकेका छन् । यस्तै मकवानपुरमा हालसम्ममा २२ हजार ५ सय ८३ जनाको गुनासो संकलन भएको भूकम्पीय आवास पुनर्निर्माण आयोजनाका प्रमुख निर्मल प्याकुरेलले जानकारी दिए । हालसम्म सबै भन्दा बढी सम्झौता थाहा नगरपालिकामा भएको छ । प्याकुरेलले दिएको तथ्याङ्क अनुसार थाहा नगरपालिकामा एकहजार २ सय ७ जनासंग सम्झौता भएको छ । यस्तै सबै भन्दा कम सम्झौता भार्ता गाविसमा जम्मा ६२ परिवारसंग मात्र भएको छ ।
हेटौँडा उपमहानगरपालिकाबाट सबैभन्दा बढी २ हजार ३ सय २९ वटा गुनासो परेको छ भने छतिवनमा २ हजार ४० गुनासो परेको छ । सबै भन्दा कम गुनासो कालिकाटार गाविसमा जम्मा ५५ वटा परेको छ ।

