युनिलिभरको बिषयमा अन्तराष्ट्रिय ट्रेड यूनियनको ध्यानाकर्षण
हेटौँडा, २० साउन/ हेटौँडा उपमहानगरपालिका पडा नम्बर–२८ मा रहेको बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडका ७ जना कर्मचारीलाई निलम्बन गरेको बिषयमा अन्तराष्ट्रिय ट्रेड युनियन नेपाल आवद्ध जिल्ला परिषद् मकवानपुरले ध्यानाकर्षण भएको जनाएको छ ।
बिहीबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर विश्वकर्मालाई ज्ञापनपत्र बुझाउँदै ध्यानाकर्षण जनाएका हुन् । महासंघको टोलीले ज्ञापनपत्र मार्फत विगतमा भएको सहमति कार्यान्वयन
गराई निलम्वन फुकुवा गराउन पहल गरीदिन प्रजिअलाई आग्रह गरेका हुन् । जिल्ला संयोजक कुमार पौडेलले ज्ञापनपत्र बुझाउँदै श्रम कार्यालय हेटौँडामा समस्या समाधानका लागि छलफल भईरहेको अवस्थामा कर्मचारीलाई निलम्वन गरिएकाले उद्योग व्यवस्थापक र कामदार प्रतिनिधिबीच भएको सहमति कार्यान्वयन र निलम्बनको निर्णय फिर्ता हुनुपर्ने माग राखे । उद्योगमा कार्यरत कर्मचारीहरुको २०७२ साल पुष २३ गते सामुहिक मागदावी गरी गत जेठ १६ गते माग दावी पूरा गर्ने भएको सम्झौता कार्यान्वयन गर्न आग्रह गर्दा ७ जना निलम्बनमा परेको उनको भनाई छ ।
माग पूरा गराउन बुधबार वार्ता गर्ने अन्तिम मिति तोकिएकोमा मंगलबार नै उद्योगले सूचना टाँस गरी उनीहरु ७ जनालाई निलम्बन गरेको कम्पनीका मजदुरहरुको भनाई छ । निलम्बनमा पर्नेहरुमा लालकृष्ण प्याकुरेल, जयराम धिताल, उद्धवप्रसाद पहाडी, चितबहादुर विश्वकर्मा, राम सापकोटा, चन्द्रप्रसाद सापकोटा र रबिबाबु मल्ल रहेका छन् । गत जेठ १६ गते व्यस्थापन र उद्योगबीच उद्योगले बन्द गरेको घरकर्जा ऋण पुनः खोलिने, भूकम्प पीडितलाई २ लाख अनुदान दिने, घरकर्जा ऋण लिएका कर्मचारीले लिएको ऋण
तिरेपछि फिर्ता हुनुपर्ने गरी ३ बुँदै सहमति भएपनि कार्यान्वयन नभएको भन्दै उनीहरु २६ दिनदेखि धर्नामा थिए । विहीबार संयोजक पौडेल, नेपाल ट्रेड युनियन महासंघका श्याम श्रेष्ठ, अखिल नेपाल ट्रेड युनियन महासंघ मकवानपुरका गंगाप्रसाद पौडेललगायतका मजदुर नेताहरु प्रशासन कार्यालयमा पुगेका थिए ।

