काभ्रेपलाञ्चोक घटना छानवीन गर्न मकवानपुरमा माग
हेटौँडा, २० साउन/ गत असार २५ गते काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिकामा अन्तरजातीय विवाह गरेका अजित मिजारको हत्या भएको भन्दै किशोरकिशोरी समूह सञ्जाल मकवानपुरले छानवीनको माग गरेका छन् ।
बिहीवार मकवानपुरका विभिन्न किशोर किशोरी समूहले प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर विश्वकर्मा मार्फत ज्ञापनपत्र बुझाउँदै उनीहरुले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् । असार २५ गते स्थानीय कल्पना पराजुलीसँग मिजारले विवाह गरेपछि विवाद हुँदा पाँचखाल प्रहरी चौकीले मिलापत्र गरी दुवैलाई आÇनो अभिभावको जिम्मा लगाएको र २९ गते वेपत्ता भएका मिजार असार ३० गते धादिङ कम्पुर–३ मा झुण्डिएको अवस्थामा फेला परेका थिए ।
घटनास्थल पुगेका आफन्तले घटना शंकास्पद भएको भन्दै प्रहरीमा उजुरी दर्ता गरेपनि छानवीनमा वेवास्ता भएको ज्ञापनपत्रमा उल्लेख छ । उनीहरुले घटनाको सत्यतत्य छानवीन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका हुन् । प्रशासन कार्यालय पुगेर सञ्जालमा आवद्ध एकता किशोरकिशोरी सञ्जाल मनहरी, मेलमिलाप किशोरकिशोरी सञ्जाल पदमपोखरी, सशक्त किशोरकिशोरी सञ्जाल थाहानगर, चेतनशिल किशोरकिशोरी सञ्जाल हाँडीखोला, अधिकारमुखी किशोरकिशोरी सञ्जाल निबुवाटार–भिमफेदी, सम्बाद किशोरकिशोरी सञ्जाल एनिमेटर छत्तिवन, पारिजात किशोरकिशोरी सञ्जाल बसामाडी, समाज किशोरकिशोरी सञ्जाल हर्नामाडी, नवयुग किशोरकिशोरी सञ्जाल हटिया, प्रशंसा किशोरकिशोरी सञ्जाल मकवानपुरगढीमा आबद्ध किशोरकिशोरीले प्रमुख जिल्ला अधिकारी विश्वकर्मालाई संयुक्त ज्ञापनपत्र बुझाएका हुन् । यसै घटनालाई लिएर मकवानपुरका सम्पूर्ण दलित समुदायको तर्फबाट संयुक्त राजनैतिक दलित संघर्ष समिति मकवानपुरले मंगलबार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए ।

