शिवशक्तिश्वर मन्दिरको प्राणप्रतिष्ठा
हेटौंडा, १४ भदौ/मकवानपुरको हाँडीखोला–६ लामिटारमा निर्माण भएको मन्दिरको शिवशक्तिश्वर महादेवको वैधिक विधि अनुरुप प्राण प्रतिष्ठा गरिएको छ ।
मङ्गलबार एक कार्यक्रमका बीच पूजापाठसहित मन्दिरको उद्घाटनसहित शिवशक्तिश्वर महादेवको प्राणप्रतिष्ठा गरिएको हो । स्थानीय पण्डित एवम् समाजसेवीहरुले संयुक्त रुपमा मन्दिरको उद्घाटन गरेका हुन् ।
गत २०६५ सालबाट निर्माण कार्य सुरु गरिएको मन्दिर जनश्रमदानबाहेक २ लाख ९५ हजार ६ रुपैया“ लागतमा निर्माण गरिएको मन्दिर निर्माण कार्यमा सक्रिय स्थानीय होत्तप्रसाद अधिकारीले जानकारी दिए । ‘निर्माण कार्य थालेको ८ बर्षमा बल्ल तल्ल मन्दिर निर्माण कार्य सम्पन्न गरेका छौँ,’ उनले भने, ‘यस बर्षको तीजमा यहाँका महिला दिदीबहिनीले यही मन्दिरमा नै पूजापाठ गर्न सकून् भन्ने उद्देश्यले हामीले यस मन्दिरको आज उद्घाटन गरेका हौँ ।’
मन्दिर निर्माण कार्य सकिएपनि मन्दिर आसपासमा विभिन्न भौतिक संरचनाहरु भने आवश्यक रहेको मन्दिर निर्माण समितिका गेहेन्द्र अधिकारीको भनाइ छ । मन्दिरमा घण्टा, दर्शनार्थी बस्ने संरचनाको अभाव रहेको उनले जानकारी दिइन् । मन्दिर स्थानीय सहयोगीले दिएको रकम र मकवानपुरका विभिन्न व्यक्तिहरुले दिएको सहयोगबाट निर्माण भएको हो । लामिटारमा महादेवको ठूलो मन्दिर नभएका कारण तीजलगायतका चाडपर्वमा अन्य गाउँमा जानुपर्ने बाध्यता रहेकोमा अब त्यो समस्या हल भएको स्थानीय युवा रामचन्द्र अधिकारीको भनाइ छ ।

