आदिवासी दिवसमा रक्तदान र फलफूल वितरण
हेटौँडा, २४ साउन/२२ औ विश्व आदिवासी दिवस मनाउने क्रममा मकवानपुरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत हेटौँडामा रक्तदान कार्यक्रम भएको छ ।
आदिवासी जनजाति महासंघ मकवानपुरको आयोजनामा भएको रक्तदानमा १४ जनाले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रममा आदिवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष तीर्थबहादुर थापा मगर, निवर्तमान अध्यक्ष बुद्ध लामा, सल्लाहकार नन्दरत्न स्थापित, हेटौँडा नगर अध्यक्ष जंगबहादुर गुरुङलगायतको आतिथ्यता रहेको थियो ।
यस्तै विश्व आदिवासी दिवसका अवसरमा नेपाल तामाङ घेदुङ मकवानपुरले फलफूल वितरण गरेको
छ । हेटाँैडा–१७ रातोमाटेमा रहेको दिव्यसेवा निकेतन बृद्धाश्रममा रहेका ३१ जना बृद्धबृद्धालाई फलफूल वितरण गरिएको हो । आदिवासी जनजाति महासंघ जिल्ला अध्यक्ष तीर्थबहादुर थापा मगरको प्रमुख आतिथ्यता तथा नेपाल तामाङ घेदुङ केन्द्रीय सदस्य जानकी लामाको बिशेष आतिथ्यतामा फलफूल वितरण गरिएको हो ।
कार्यक्रम घेदुङ मकवानपुर अध्यक्ष लिलाकुमार घलानको अध्यक्षतामा भएको हो । सोही कार्यक्रममा नेपाल तामाङ युवा घेदुङका जिल्ला अध्यक्ष राजकुमार गोलेले आश्रमलाई २ हजार रुपैया सहयोग गरेका थिए ।
कार्यक्रममा दिव्यसेवा निकेतनका केन्द्रीय अध्यक्ष टीआर निरौला, आश्रमका अध्यक्ष चम्फुसिँह लामा, नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरका सल्लाहकार मधुकरसिं गलामी मगरलगायत आदिवासी जनजाति संस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।
