बसामाडी जेसीजको जेसीज सप्ताह सकियो
हेटौँडा, ४ भाद्र/बसामाडी जेसीजको बर्ष सन्–२०१६ को सप्ताहव्यापी कार्यक्रम सकिएको छ ।
शनिबार हेटौंडामा पुरस्कार वितरण तथा समापन समारोह आयोजना गर्दै जेसीज सप्ताह–२०१६ सप्ताहव्यापी कार्यक्रमको समापन गरिएको हो । नेपाली काँग्रेस मकवानपुरका पूर्व सभापति माइकल रामचन्द्र अर्यालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जेसीज अध्यक्ष सुनिल दाहालको अध्यक्षता रहेको थियो । समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अर्यालले जेसीज विकासको सम्वाहक भएको बताउँदै युवाहरु संविधान कार्यान्वयनका लागि अग्रसर हुने बेला आएको बताए ।
युवा सचेत भएमात्र देश विकास सम्भव रहने भन्दै उनले अब हरेक क्षेत्रमा रहेका युवाहरु सचेत हुन जरुरी रहेको औँल्याए । जेसीज सप्ताह समापन समारोहमा नेकपा एमाले जिल्ला नेता इन्द्र नेपाल, जेसीज मानार्थ सदस्य हरिबहादुर पण्डित, नेपाल रेडक्रस सोसाइटी मकवानपुर सभापति सूर्यचन्द्र न्यौपाने, मूल कार्यक्रम संयोजक हरि शर्मा, कार्यक्रम संयोजक सजग गोर्खालीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
बसामाडी जेसीज सप्ताह कार्यक्रमअन्तर्गत् यसवर्ष बृक्षरोपण, रक्तदान, मैत्रीपूर्ण फुटबल प्रतियोगिता, अनाथ तथा अपाङलाई शैक्षिक सामग्री वितरण लगायतको कार्यक्रम आयोजना गरेको थियो ।

