Header Ads


हुप्रमा मेला गर्ने÷नगर्ने बिषयमा अन्तरक्रिया

हेटौँडा, ४ भाद्र/लोकतान्त्रिक खेलकुद मैदान (हुप्रचौर) मा मेला महोत्सव गर्न दिने वा नदिने भन्ने बिषयमा मत बाझिएको छ । 
नेकपा माओवादी केन्द्र निकटको अखिल नेपाल खेलकुद महासंघ मकवानपुरले हुप्र खेल मैदानमा मेला गर्न हुन्छ वा हुँदैन भन्ने बिषयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका सहभागी धेरैले मेला गर्न दिन नहुने बताए पनि खेल क्षेत्रको विकासको निम्ति मेला आयोजना गर्न खोज्नेलाई भने रोक्न नहुने पक्षमा केही सहभागीले धारणा राखेका छन् ।
यसअघि हुप्रचौरमा मकवानपुर उद्योग वाणिज्य संघ, निर्माण व्यवसायी संघ, मोबाइल एशोसिएसनलगायतका संस्थाले मेला महोत्सवको आयोजना गरेपनि हुप्रचौरको विकासको निम्ति एक रुपैँया खर्च नगरेको भन्दै कार्यक्रमका सहभागीले आक्रोश पोखेका छन् । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले मङ्सिर २ गतेदेखि आयोजना गर्न लागेको खेलकुद मेलाको बिषयमा भने छलफलका सहभागी केही लचिलो देखिएका छन् । नेकपा माओवादी केन्द्र मकवानपुरका संयोजक प्रेमबहादुर पुलामी छिन्तुले पछिल्ला समय मकवानपुरमा मेला महोत्सव गर्नेको लर्को लागेको भन्दै हुप्रचौरको विकल्प खोजिनु आवश्यक भएको बताए । 
सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानका अध्यक्ष भेष खड्कीले आजको दिनसम्म हुप्रमा मेला आयोजना कसैले एक रुपैँया नदिएको अवस्थामा खेल क्षेत्रको विकास कै लागि प्रतिष्ठानले हुप्रमा मेला गरे वापत १० लाख रुपैँया सहयोग गर्ने प्रतिबद्धता दिइएको बताए । अन्य संघसंस्थाले जस्तो विदेश घुम्न जान र  रमाइलो गर्नको निम्ति प्रतिष्ठानले महोत्सव गर्न नलागेको बताउँदै उनले हुप्र बाहेक अन्यत्रै मेला गरेपनि हुप्रचौरको विकासको निम्ति प्रतिष्ठानको तर्फबाट १० लाख सहयोग गरिने बताए । प्रतिष्ठानका महासचिव सविन न्यौपानेले यसअघि पनि हुप्रमा मेला गर्न नदिने भन्दै केही व्यक्तिहरु उफ्रिएपनि उद्योग वाणिज्य संघले मेला आयोजना गरेरै छोडेको उदाहारण प्रश्तुत गर्दै अन्य मेला र प्रतिष्ठानले गर्न लागेको मेला फरक भएको बताए । 
कार्यक्रममा स्थानीय लवराज ठकुरी, कृष्णराज कोइलारा, ईश्वर पाठक, सुवोध रिमाल लगायतले हुप्रमा मेला गर्न नदिने बताउँदै यसको विकल्प खोज्नुपर्ने धारणा राखेका थिए । अखिल नेपाल खेलकुद महासंघ मकवानपुरका अध्यक्ष माधव कोइरालाको अध्यक्षतामा कार्यक्रम भएको हो । 
Powered by Blogger.