‘मागेको सूचना पाउनै मुस्किल’
हेटौँडा, ३ भाद्र/राष्ट्रिय सूचना दिवसको सन्दर्भमा शुक्रबार सञ्चार केन्द्र हेटौँडाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी सूचनाको हक नागरिक कार्यान्वयन अभियानका अभियन्ता तथा सञ्चारकर्मीले जिल्लाका सरकारी कार्यालयबाट सहज रुपमा सूचना नपाएको बताएका छन् ।
पछिल्ला समय अभियान कै रुपमा चलेको सूचना माग्ने कार्यमा जिल्लाका जिम्मेवार सरकारी कार्यालयले नै मागेको ढाँचामा सूचना नदिएको उनीहरुको भनाई छ । सूचनाको हक नागरिक अभियान मकवानपुर संयोजक कुमार अधिकारीले पछिल्लो केही समय यता सूचना माग्ने परम्पराको व्यापक रुपमा विकास भैरहेको भएपनि माग्नेले मागेको जति सूचना तोकिएको ढाँचामा नदिएको बताए । ‘जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता जिम्मेवार सरकारी कार्यालयबाटै मागेको सूचना पूर्ण रुपमा पाउन सकिएको छैन’, उनले भने, ‘यसरी सूचना दिवस मनाउने नाममा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिनुले मात्रै यसको औचित्य पुष्टि हुन्छ जस्तो लाग्दैन ।’ यस्तै पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष गिरिजा अधिकारीले सरकारी कार्यालयबाटै सूचना नपाइनु दुखद् भएको बताए । नियमसम्बत् तवरबाट काम गरेका कार्यालयले जो कोहीलाई पनि सहज ढङ्गबाट माग भए बमोजिमको सूचना उपलब्ध गराउन सक्ने भन्दै उनले यस तर्फ सरोकारवाला कार्यालयको ध्यानाकर्षण गराए । यता मकवानपुरका प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर विश्वकर्माले भने सूचना माग्ने र दिनेमा विश्वास हुन जरुरी रहेको बताए । सूचना माग्ने र दिनेप्रति शंका भएन भने सूचनाको हकको नीति कार्यन्वयनमा सहजता हुने उनको भनाई छ । ‘सूचना दिनुपर्छ र माग्नुपर्छ भन्ने प्रक्रियाको विकास हुनु राम्रो कुरा हो’, प्रजिअ विकले भने, ‘सूचना लिने र दिनेको बीचमा विश्वास हुनुप¥यो । दिइएको सूचना सही सदुपयोग पनि हुनुप¥यो ।’
कार्यक्रममा महिला तथा बालबालिका कार्यालय मकवानपुर प्रमुख शोभा शाह, हेटौँडा उपमहानगरपालिकाका निमित्त कार्यकारी अधिकृत शंकरप्रसाद उपाध्याय, जिल्ला सहकारी संघका अध्यक्ष बद्री लम्साललगायतले सूचनाको हक आम नागरिकलाई भएकोले माग भएको सूचना दिनु आवश्यक रहेको औँल्याए ।
