काँग्रेस पुराना नेता महर्जनको निधन
हेटौँडा, १७ साउन/नेपाली काँग्रेस मकवानपुरका पुराना नेता लालबहादुर महर्जनको निधन भएको छ ।
मकवानपुरको आमभञ्ज्याङ–३, धादिङ निवासी महर्जनको ८८ वर्षको उमेरमा शनिवार राति निधन भएको हो । काँग्रेसका सर्वमान्य नेता गणेशमान सिंहका सहयात्री महर्जनले युवा अवस्थामा वि।सं २००७ सालदेखि राजनीतिक यात्रा सुरु गरेका थिए । गणेशमान सिंहसँगै जनमुक्ति सेनामा संलग्न महर्जन डा। केआई सिंहलाई देशबाट धपाउन सक्रिय भूमिका खेलेको उनका छोरा चन्द्रलालले बताए । २०१५ सालको आम निर्वाचनमा गणेशमानसँगै महर्जन राजनीतिमा सक्रिय रहेका थिए । ललितपुर, लिखुमा १९८५ असोज १५ गते जन्मिएका महर्जन लामो समयदेखि विभिन्न रोगले ग्रसित थिए । हक्की नेताका रुपमा परिचित महर्जन बहुदल आएपछि २०५१ सालमा मकवानपुरको तत्कालीन क्षेत्र नं। १ को नेपाली काँग्रेस क्षेत्रीय कमिटीको उपसभापति निर्वाचित भएका थिए । उपत्यकाबाट २०१५ सालमा हेटौंडा र त्यसको ५ वर्षपछि आमभञ्ज्याङ बसाईं सरेका महर्जन २०३९ सालमा पञ्चायतकालमा जनपक्षीय उमेदवारका रुपमा प्रधानपञ्च उठेका थिए । उनी गाविस उपाध्यक्षको रुपमा समेत चुनावमा उत्रिएका थिए ।

