आमभञ्ज्याङको बार्षिक समिक्षा
हेटौँडा, १७ साउन/मकवानपुरको आमभञ्ज्याङ गाउँ विकास समितिले स्थानीयस्तरमा गरेको योजना तथा कार्यक्रमको वार्षिक समिक्षा गरिएको छ ।
गाविस सचिव युवराज पौड्यालले ३ करोड ४८ लाख ७ सय ७७ रुपियाँको आयव्ययको विवरण प्रस्तुत गरेका थिए । पूूजीगत तर्फ ३४ लाख ९६ हजार ६ सय ७८ को र चालूतर्फ ३ करोड १३ लाख ४ हजार ९९ खर्च सार्वजनिक गरेका थिए ।
कार्यक्रममा चालूतर्फको ठूलो खर्च देखिनुमा भूकम्पको अस्थायी आवास निर्माण, न्यानो कपडा वितरणलगायतका खर्चहरु समावेश भएको गाविस सचिव पौड्यालले बताए । कार्यक्रममा नेपाली कांग्रेसका निवर्तमान गाउँ कमिटी सभापति बलराम घिमिरे, नेकपा एमाले गाउँ कमिटी अध्यक्ष टिका दाहाल, नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णप्रसाद चौलागाईं, राप्रपा नेपालका अध्यक्ष जयराम तिमल्सिनालगायतका वडा नागरिक मञ्च र स्थानीयको उपस्थिति थियो ।
यसैगरी, आमभञ्ज्याङ गाविस समितिमा बसेको सर्वदलीय÷सर्वपक्षीय बैठकले आमभञ्ज्याङ गाविसको पायकपर्ने ठाउँमा गाउँपालिका राखिनु पर्ने निर्णय गरेका छन् । सोमबार सर्वदलीय निर्णयले प्राथमिकतामा हेटौंडा उपमहानगरपालिकामा आमभञ्ज्याङलाई गाभिनुपर्ने र यदी त्यो विकल्प सम्भव नभएमा गढी, सुकौरा, बुढीचौर र भैंसेलाई गाभेर आमभञ्ज्याङलाई सदरमुकाम बनाउँदा भौगोलिक दृष्टिकोणले सबैलाई उपयुक्त हुने भन्दै यस्तो निर्णय गरेको छ ।

