साक्षर मकवानपुर घोषणाको तयारी तीव्र
हेटौंडा, २६ भदौ/यही भदौ ३० गते मकवानपुरलाई ३० औँ साक्षर जिल्ला घोषणा गर्ने तयारी भैरहेको छ ।
यसको तयारीलाई आयोजक मकवानपुर जिल्ला शिक्षा कार्यालयले तीव्रताका साथ अघि बढाएको छ । यहाँ १५– ६० बर्ष उमेर समूहका २ हजार ४ सय ४७ जना मात्र बाँकी साक्षर हुन रहेको बताइएको छ । मकवानपुर साक्षर घोषणाको तयारी भैरहेको अवस्थामा जिल्ला शिक्षा कार्यालयले आइतबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै २०६८ को जनगणना अनुसार मकवानपुरमा एकलाख ९५ हजार ४९ जना महिला र एकलाख ८७ हजार २ सय १९ पुरुष गरी ३ लाख ८२ हजार २ सय ६८ जना निरक्षर रहेका थिए ।
यस्तै १५–६० उमेर समूहका २ लाख ३८ हजार ४ सय ९७ जना साक्षर रहेको जानकारी दिएको छ । शिक्षा अधिकारी अम्बिकाप्रसाद आचार्यका अनुसार मकवानपुरमा ९८ दशमलव ९७ प्रतिशत साक्षर रहेका छन् । २०६६÷०६७ को घरधूरी सर्वेक्षण अनुसार ३७ हजार ७ सय ३१ महिला र १७ हजार ६ सय ३२ जना पुरुष गरी ५५ हजार ३ सय ६३ जना निरक्षर रहेका थिए ।
५० बिद्यालयका ६ हजार २ सय ५६ विद्यार्थी र १० बिद्यालयका एकहजार ३५ स्वयमसेवक मार्फत निरक्षरलाई साक्षर बनाइएको शिक्षा अधिकारी आचार्यले जानकारी दिए । १५ देखि ६० बर्ष उमेर समूहका ९५ प्रतिशत भन्दा माथि साक्षर भएको जिल्लालाई पूर्ण साक्षर भएको घोषणा गर्न मिल्ने प्रावधान रहेको छ । शिक्षामन्त्री धनीराम पौडलको प्रमुख आतिथ्यतामा घोषणासभा गर्ने कार्यक्रम तय भएको छ । मकवानपुरका सहायक शिक्षा अधिकारी शम्भु पौडेलका अनुसार मकवानपुरमा गत २०६६÷०६७ देखी साक्षरता अभियान सुरु गरिएको थियो । मकवानपुरका सबै गाविस र नगरपालिकाको वडाहरुमा साक्षरता कक्षाहरु सञ्चालन गरिएको र एकबर्ष बिद्यार्थी परिचालन कार्यक्रम पनि भएको उनको भनाई छ ।
निरक्षर रहेकाहरुको निम्ति नयाँ कार्यक्रम लागू गर्दै अघि बढ्नुपर्ने औँल्याउँदै शिक्षा अधिकारी आचार्यले आफ्नो कार्यकालमा एक प्रधानाध्यापक एक ल्यापटपलगायतका कार्यक्रम लागू गर्ने योजना रहेको सुनाए ।

