‘संविधान कार्यान्वयनमा सबैको सहयोग आवश्यक’
हेटौँंडा, ३ असोज/आगामी २०७४ माघ ७ गतेभित्र नेपालको संविधान–२०७३ कार्यान्वयन भैसक्नुपर्ने भएकोले संविधान कार्यान्वयनमा सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्नुपर्ने बताइएको छ ।
पहिलो संविधान दिवसको अवसरमा सोमबार हेटौंडामा आयोजित प्रभातफेरी तथा प्रवचन कार्यक्रमका वक्ताहरुले संविधान लचिलो वस्तु भएकाले आवश्यक पर्दा संविधान संशोधन गर्दै अगाडि बढ्न सकिने बताएका हुन् । उनीहरुले देशलाई समृद्धितर्फ लैजान संविधान संशोधन गरी राजनीतिक दलबीचको मतभेद हल गर्नु पर्ने औंल्याएका छन् । कार्यक्रमका प्रमुख अतिथि सांसद् इन्द्रबहादुर बानियाँले संविधान परिवर्तन गर्न नमिल्ने धार्मिक ग्रन्थ नभएको बताउँदै आवश्यकताअनुसार संविधान संशोधन हुने बताए । ‘हाम्रो संविधान राम्रो संविधान यसको कार्यान्वनका लागि संविधान संशोधन गर्दै अगाडि बढ्नु आजको आवश्यकता हो’, सांसद् बानियाँले भने, ‘संविधानको पूर्णरुपमा कार्यान्वयनका लागि सबै राजनीतिक दलहरु मिलेर स्थानीय निकायको निर्वाचनमा जानु आवश्यक छ ।’ संविधान लागू गर्ने बिषयमा सबै राजनीतिक दल दत्तचित्त भएर लाग्नुपर्ने बानियाँको सुझाव थियो । जनतलाई अधिकतम अधिकार दिनेतर्फ केन्द्रित हुनुपर्छ भन्दै उनले कुनै पनि बाहनामा देश र जनतालाई धोका दिन नमिल्ने बताए । बानियाँले संविधान पूर्ण कार्यान्वयन र देशलाई गतिशील अवस्थामा लैजानका लागि धेरै कानुनहरु निर्माण गर्न आवश्यक रहेको बताए । कार्यक्रममा पूर्व सभाषद् प्रेमबहादुर पुलामी छिन्तु, नेकपा एमाले मकवानपुर अध्यक्ष मुनु सिग्देल, अधिवक्ता केशब काफ्ले, शिव कोइराला, केशब गौतम तथा जिल्ला बार एशोसिएसन अध्यक्ष अज्मीर केसीलगायतले संविधान कार्यान्वयनको निम्ति यहाँ रहेका राजनीतिक दलका नेतामा सकारात्मक सोच र व्यवहार आवश्यक रहेको बताए । हेटौंडाको पल्पसा हलबाट सुरु भएको प्रभातफेरी बुद्धचोक, कान्तिराजपथ, संगमचोक, मानसचोकहुँदै जिल्ला विकास समितिमा पुगेर प्रवचन कार्यक्रममा परिणत भएको थियो । मकवानपुरका स्थानीय विकास अधिकारी लक्ष्मणविक्रम थापाको अध्यक्षतामा कार्यक्रम भएको हो ।

