काँग्रेस मकवानपुरको उपसभापतिमा लामिछाने, सचिवमा कठायत
आइतबार बसेको जिल्ला कार्यसमिति बैठकले जिल्ला सदस्य रहेका विष्णुप्रसाद लामिछानेलाई उपसभापति पदको जिम्मेवारी दिएको हो । यस्तै बैठकले जिल्ला सचिवको जिम्मेवारी आनन्द कठायतलाई दिएको छ भने जिल्ला सदस्य प्रदीप कोइरालालाई प्रवक्ता एवम् नेवि संघ र तरुण दल विभाग प्रमुखको जिम्मेवारी दिएको छ । बैठकले अमिक परियारलाई आमन्त्रित सदस्यमा मनोनित गरेको छ ।
बैठकले जिल्ला सभापति ईन्द्रबहादुर बानियाँको संयोजकत्वमा ११ सदस्यीय कार्यसम्पादन समिति गठन गरेको छ । समितिमा उपसभापति विष्णुप्रसाद लामिछाने, सचिव बुद्ध लामा, आनन्द कठायत, कोषाध्यक्ष गोपिलाल विक, जिल्ला सदस्यहरु राजिव सुवेदी, रामबाबु बानियाँ, कृष्ण प्रसाद सञ्जेल, प्रदीप कोइराला, कृष्णप्रसाद दाहाल र मीरा स्याङ्तान रहेका छन् । यस्तै नेपाली काँग्रेस जिल्ला कार्य समिति मकवानपुरमा ७ जना मनोनित भएका छन् । नेपाली काँग्रेसको विधान अनुसार जिल्ला सभापति बानियाँले ७ जनालाई जिल्ला सदस्यमा मनोनित गरेका हुन् । मनोनित जिल्ला सदस्यमा मकवानपुर क्षेत्र नम्बर १ बाट शेरबहादुर लामा र गोपी अधिकारी, क्षेत्र नम्बर २ बाट सूर्यबहादुर रुम्बा र कृष्णभक्त श्रेष्ठ, क्षेत्र नम्बर ३ बाट इन्दिरा न्यौपाने तथा क्षेत्र नम्बर ४ बाट राजकुमार मल्ल र बलराम प्रजा (चेपाङ) रहेका छन् । क्षेत्र नम्बर ३ बाट सुनिल दाहाल यसअघि नै जिल्ला सदस्य मनोनित भइसकेका छन् ।
त्यसैगरी, जिल्ला कार्यसमितिको सल्लाहकारमा दामोदर सुवेदी, अशोक शाक्य, उमा दाहाल, जयराम लामिछाने, र प्रभातकुमार दाहाललाई मनोनित गरिएको सभापति बानियाँले जानकारी दिए । विधान अनुसार जिल्ला सभापतिले प्रत्येक निर्वाचन क्षेत्रबाट २ जनाका दरले ८ जना जिल्ला सदस्य मनोनित गर्न सक्नेछन् ।
त्यसैगरी, जिल्ला सभापतिले चयन गर्न सक्ने १० जना आमन्त्रित जिल्ला सदस्य भने चयन गर्न बाँकी रहेको छ । यसलाई समेत छिट्टै पूर्णता दिईने सभापति बानियाँले बताए । २०७२ माघ २५ गते जिल्ला अधिवेशन भएपछि दुई चरणमा गरी मनोनित जिल्ला सदस्य चयन गरिएको हो । जिल्ला कार्यसमितिमा प्रत्येक निर्वाचन क्षेत्रबाट ६÷६ जना गरी २४ जना, सभापति, सचिव र कोषाध्यक्ष गरी २७ जना अधिवेशनबाट निर्वाचत भएका थिए ।

