महिला फुटबल खेलाडीको छनौट
हेटौंडा, १० असोज/मंसिरमा हुन लागेको सातांै राष्ट्रिय खेलकुद अन्तर्गत मकवानपुरमा महिला फुटबल टिमको छनौट गरिएको छ ।
हेटौंडा–५ स्थित क्याम्पाचौरमा भएको खेलबाट पूर्व फिफा रेफ्री कल्पना शर्मा र एन्फा प्रशिक्षक विजयलाल श्रेष्ठले खेलाडीहरुको छनौट गरेका हुन् ।
छनौट कार्यक्रममा जिल्ला प्रहरी प्रमुख मीरा चौधरीले महिला खेलाडीहरुले पछिल्लो समयमा निकै अवसर पाउँदै आएको भन्दै निरन्तर अभ्यास गर्न सुझाव दिइन् । राम्रो खेलाडी खेल खेलेरै बाँच्न सक्ने आधार तयार हुँदै गएको भन्दै उनले खेलाडीमा अनुशासन महत्वपूर्ण रहेको बताइन् ।
१८ जना खेलाडीका लागि भएको छनौटको नतिजा केही दिनमा सार्वजनिक गरिने जिल्ला खेलकुद विकास समितिले जनाएको छ । कार्यक्रममा खेलकुद विकास समितिका प्रमुख राजन दाहाल खुशराज, फुटबल छनौट समितिका संयोजक सुनिल लोप्चन, प्रशिक्षक सुविन घिमिरेलगायतको उपस्थिति रहेको थियो । पुरुष फुटबल खेलाडीको छनौट यही असोज १४ गते शुक्रबार हुने खेलकुद विकास समितिका प्रमुख दाहालले जानकारी दिए ।

