Header Ads


टियू र एएफयूको समस्या छिट्टै समाधान हुन्छ ः महर

हेटौंडा, २८ भदौ/करिब एक महिना अघि मात्र नेपाल बिद्यार्थी संघको केन्द्रीय अध्यक्ष पदमा निर्वाचित भएका नैनसिंह महरले हेटौँडाको कृषि तथा वन विश्वविद्यालय र वन विज्ञान अध्ययन संस्थानबीचको विवाद अब केही समयमै हल हुने बताएका छन् । 
नेपाल बिद्यार्थी संघ फरेष्ट्री क्याम्पसले मङ्गलबार गरेको नव आगन्तुक विद्यार्थीको स्वागत एवम् सम्मान कार्यक्रमका प्रमुख अतिथि महरले नेपाल सरकारले दुई विश्वविद्यालयको बीचमा लडाइँ सृजना गर्ने प्रयास गरेको भन्दै उनले अब यो समस्या छिट्टै समाधान हुने दोहो¥याए । ‘दुई विश्वविद्यालय बीचको समस्या समाधानका लागि प्रधानमन्त्री र शिक्षामन्त्री संग कुराकानी गरिसकेका छौँ’, महरले भने, ‘प्रधानमन्त्री दिल्ली भ्रमणबाट फर्किएपछि यो बिषयमा थप छलफल हुनेछ र समस्या समाधान हुनेछ ।’ उनले नेपालको शिक्षालाई प्रविधीयुक्त बनाउनु आवश्यक रहेकोमा जोड दिएका छन् । ‘डिग्री पास गरेको मान्छे काम नपाएर भौंतारिँदै हिँड्नुपर्ने अवस्था छ । न त उसले गाउँघरमा फर्केर काम नै गर्न चाहन्छ’, उनले भने, ‘यस्तो शिक्षाले बेरोजगार मात्र उत्पादन गर्दछ । नेपालको शिक्षालाई आधुनिक बनाउनु अहिलेको टड्कारो आवश्यकता हो ।’ यस्तै नैतिकतामा आधारित मानवतावादी शिक्षालाई समेत जोड दिनु आवश्यक रहेको औँल्याउँदै उनले विश्वविद्यालयमा राजनीतिक दलको भागबण्डाको आधारमा नियुक्ती गर्ने प्रक्रिया खारेज हुनुपर्ने माग गरे । 
पैसा नभएकै कारण शिक्षा र स्वास्थ्य क्षेत्रबाट कोही बञ्चित हुनु नहुने उनको भनाई थियो । ‘हरेक प्रदेशमा एउटा इञ्जिनियरिङ, कृषि र वन विश्वविद्यालय हुनुपर्छ’, महरले भने । यस्तै नेपाली काँग्रेस मकवानपुरका निवर्तमान सभापति रघुरमण न्यौपानेले शिक्षित व्यक्तिहरु राजनीतिमा नआएका कारण देशले गति लिन नसकेको भन्दै विद्यार्थीहरुलाई 
राजनीतिमा आउन अनुरोध गरे । अहिलेसम्म नेपालका प्रधानमन्त्री भएकाहरु कम्युनिष्ट नेताहरु काँग्रेसकै कारण भएको उनको दावी थियो । फरेष्ट्री क्याम्पस इकाई अध्यक्ष पंकज ठाकुरको अध्यक्षतामा भएको कार्यक्रममा नेवि संघ केन्द्रीय सदस्यद्वय सरोज रेग्मी र पुष्प बस्नेत, काँग्रेस जिल्ला सदस्य प्रदीप कोइराला, नेवि संघ मकवानपुर कार्यबहाक अध्यक्ष राजु खतिवडा, निमित्त क्याम्पस प्रमुख गुलाफ चौधरी, नेवि संघ निवर्तमान क्याम्पस सभापति विनयकुमार झा, एएफयू तर्फका नेवि संघ सभापति मनोज बुर्लाकोटी, रामपुर क्याम्पस इकाई अध्यक्ष टेकेन्द्रसिँह ऐर, वन विज्ञान अध्ययन संस्थान प्राध्यापक संघ सभापति कृष्णप्रसाद दाहाललगायतले दुईवटा विश्वविद्यालय बीचको समस्या समाधानमा नेवि संघले नेतृत्व लिनुपर्नेमा जोड दिएका थिए । 
Powered by Blogger.