शिवम्को विजय सुरुवात
हेटौंडा, २८ भदौ/बसामाडी जेसीजको आयोजनामा प्रत्येक बर्ष सञ्चालन हुँदै आएको उद्योगस्तरीय निक रनिङ शिल्ड भलिबल प्रतियोगिताको यस बर्षको संस्करण मंगलबारबाट सुरु भएको छ ।
प्रतियोगितामा शिवम् सिमेन्टले विजयी यात्रा सुरु गरेको छ । शिवम्ले सीएसआईलाई २५–१७, २५–२१ र २५–२१ को सेटमा पाखा लगाउँदै विजययात्रा सुरु गरेको हो । प्रतियोगिताको उद्घाटन उद्योग संघ मकवानपुर अध्यक्ष नवराज अर्यालले गरेका हुन् ।
प्रमुख अतिथि अर्यालले यस बर्ष जम्मा ४ उद्योगको मात्र सहभागिता रहेको यस प्रतियोगितामा अर्को बर्ष अहिलेको भन्दा दोब्बर सहभागिता गराउने प्रतिबद्वता व्यक्त गरे । उद्योगको मजदुरको बीचमा भाइचाराको विकास गर्ने उद्देश्यका साथ बसामाडी जेसीजले आयोजना गर्दै आएको प्रतियोगितामा सहभागिता कम हुनु राम्रो नभएको उनको तर्क थियो । यस्तै मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिनाले यस प्रतियोगितालाई निरन्तरता दिनको निम्ति उद्योगको सहभागितामा बृद्धि हुनुपर्ने भन्दै यस तर्फ उद्योग संघले चासो दिनुपर्ने सुझाव दिए । जेसीज अध्यक्ष सुनिल दाहालको सभाध्यक्षतामा भएको उद्घाटन समारोहमा प्रायोजक नेपाल ईकरात कम्पनि प्रालिका उत्पादन व्यवस्थापक रामकुमार भण्डारी, जेसीज पूर्वअध्यक्ष अनिल अग्रवाललगायतले मन्तव्य व्यक्त गरेका थिए । हरेक वर्ष हुँदै आएको प्रतियोगितामा विजेताले नगद २० हजार रुपैयाँ सहित रनिङ शिल्ड पाउने छन् । यस्तै उपविजेता टिमले ५ हजार रुपैयाँ नगदसहित शिल्ड प्राप्त गर्नेछ । आयोजक आयोजक बसामाडी जेसीजका अनुसार हुप्रचौरमा हुने प्रतियोगितामा ४ वटा टिमको सहभागिता रहेको छ । असोज ३ गते फाइनल खेल हुने प्रतियोगिताको उत्कृष्ट खेलाडी र अनुशासित टिमलाई पनि पुरस्कारको व्यवस्था रहेको बसामाडी जेसीजका अध्यक्ष सुनिल दाहालले जानकारी दिए ।

