थाहा महोत्सवको तयारी पूरा
हेटौंडा, २८ भदौ/मकवानपुरको उत्तरी क्षेत्रमा रहेको थाहा नगर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा आज बुधबारदेखि थाहा महोत्सव–२०७३ सञ्चालन हुँदैछ ।
थाहानगरपालिका–७ इन्द्रायणी चौरमा हुन लागेको दोस्रो थाहा महोत्सवको तयारी पूरा भएको आयोजकले जनाएको छ । महोत्सवको पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने छन् । त्यसका लागि ओली मङ्गलबार बेलुका नै थाहा नगर आइसकेका छन् । मेलाको तयारीस्वरुप दुई सय ५० वटै स्टल निर्माण सकिएको छ । स्टेज निर्माण तथा सजावट, घेराबार, बाल उद्यान, प्रचारप्रसारलगायत सबै काम सम्पन्न भएको आयोजक संघका अध्यक्ष कविराज खत्रीले जानकारी दिए । उनका अनुसार महोत्सवको उद्घाटनपूर्व थाहानगर–१ ओखरबजारबाट सुरु हुने झाँकीसहितको ¥यालीले थानाबजार, दोबाटो, शिखरकोट, गोपाली गाउँदेखि जेसीज मार्गहुँदै महोत्सवस्थलमा पुग्ने छ । महोत्सवमा खाना, लत्ताकपडा, सूचना प्रविधि, दैनिक उपभोग्य बस्तु,
घरेलु उत्पादन, पर्यटकीय जानकारी सहितका स्टल तथा कृषिका स्टलहरु रहनेछ ।
करिब तीन लाख अवलोकनकर्ताहरु आउने अनुमान गरिएको महोत्सवमा राष्ट्रियस्तरका कलाकारहरुले दैनिकरुपमा मनोरञ्जन प्रदान गर्ने संघका महासचिव सुरेन्द्रमान प्रधानले बताए । महोत्सवमा ३० गते ज्योति मगर, ३१ गते बद्री पंगेनी, असोज १ गते राधिका हमाल, मुलाको प्रस्तुति रहने महासचिव प्रधानले
जानकारी दिए । महोत्सवमा करिब पाँच करोड रुपियाँभन्दा बढीको व्यापार हुने अनुमान गरिएको छ । बेमौसमी तरकारी खेतीको नामले परिचित मकवानपुरको उत्तरी क्षेत्रमा महोत्सवको अवसरमा हेटौंडा, वीरगञ्ज, काठमाडौं, चितवनलगायत क्षेत्रबाट अवलोकनकर्ताहरु आउने आयोजकको दाबी छ ।

