अग्र्यानिक कृषि तर्फ लाग्नूस् ः ओली
हेटौंडा, २९ भदौ/नेकपा एमालेका अध्यक्ष एवम् प्ूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले थाहानगरका किसानहरुलाई अग्र्यानिक कृषि तर्फ लाग्न अनुरोध गरेका छन् ।
बुधबारबाट सुरु भएको दोस्रो थाहा महोत्सव–२०७३ को उद्घाटन गर्दै उनले विश्वका ठूला देशहरुमा कृषि उपज निर्यात गर्न सक्ने सम्भावना बोकेको थाहानगरले अब आफ्नो उत्पादनको गुणस्तरमा अभिबृद्धि गर्नुपर्नेमा सुझाव दिए । ‘अब कृषि उपज अग्र्यानिक हुनुपर्छ, अग्र्यानिक तरिका विना खेती गरेर उत्पादन भएको तरकारी अब विदेश निर्यात गर्न असम्भव छैन’, ओलीले भने, ‘व्यवसायिक तरकारी खेतीलाई अगाडि बढाउन सके मात्र आर्थिक विकास सम्भव छ ।’ नेपालमा फलाम, तेललगायतको खानी प्रशस्त रहेकोले त्यसको उत्खनन् गरेर देशको विकासमा लाग्नुपर्ने उनको भनाई थियो । मकवानपुरको उत्तरी क्षेत्र सिमेन्टको खानी रहेको, वातावरणीय रुपमा अत्यन्तै रमणीय रहेको र धार्मिक दृष्टिकोणले पनि अत्यन्तै महत्व बोकेको क्षेत्र भएकाले पर्यटनको विकासको माध्यमबाट आर्थिक विकास गर्नुपर्नेमा उनको जोड थियो । थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्रीको अध्यक्षतामा भएको मेला उद्घाटन कार्यक्रममा सांसद् सुभाषचन्द्रसिं ठकुरी, नेपाली काँग्रेसका खड्ग गोपाली, राप्रपा नेपालका केन्द्रीय सदस्य नवराज विष्ट, नयाँ शक्ति नेपाल पार्टीका केन्द्रीय सदस्य ज्योति रायमाझी, राप्रपाका क्षेत्रीय अध्यक्ष सीताराम बर्तौला, संघ महिला उद्यमी विकास समिति सभापति आरती श्रेष्ठ, संघका वरिष्ठ उपाध्यक्ष पुरुषोत्तम ढकाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।
मेलामा दुई सय ५० वटा स्टल राखिएको छ । महोत्सव उद्घाटनपूर्व थाहानगर–१ ओखरबजारबाट सुरु भएको झाँकीसहितको ¥यालीले थानाबजार, दोबाटो, शिखरकोट, गोपाली गाउँदेखि जेसीज मार्गहुँदै महोत्सवस्थल पुगेको थियो । महोत्सवमा खाना, लत्ताकपडा, सूचना प्रविधि, दैनिक उपभोग्य बस्तु, घरेलु उत्पादन, पर्यटकीय जानकारी सहितका स्टल तथा कृषिका स्टलहरु छन् ।
करिब तीन लाख अवलोकनकर्ताहरु आउने अनुमान गरिएको महोत्सवमा राष्ट्रियस्तरका कलाकारहरुले दैनिकरुपमा मनोरञ्जन प्रदान गर्ने संघका महासचिव सुरेन्द्रमान प्रधानले बताए । महोत्सवमा आज ३० गते चर्चित लोक गायिका ज्योति मगर, ३१ गते बद्री पंगेनी, असोज १ गते राधिका हमाल, मुलाको साग र जोगिन्दर, २ गते पशुपति शर्मा, ३ गते साहिमा श्रेष्ठ र पाँडे, जिग्री, ४ गते कोमल वली, ५ गते इन्दिरा जोशी, ६ गते सुनिल गिरी र रमेशराज भट्टराई, ७ गते चन्दा अर्याल र दिनेश थापा र ८ गते प्रमोद खरेलको साँस्कृति प्रस्तुती
रहनेछ ।

