‘एक बर्ष नेतृत्व गर्न पाए धेरै काम गरेर देखाइदिन्छु’
तराई क्षेत्रका जिल्लाका फुटबल संघका पदाधिकारीसंकागे भेटघाट सकेर आइतबार दिउँसो हेटौँडा आइपुगेका शेर्पाले मकवानपुर जिल्ला फुटबल संघका पदाधिकारीसंगको छलफल पश्चात सञ्चारकर्मीहरुसंग संक्षिप्त कुराकानी गर्दै एक बर्ष काम गर्ने मौका पाएमा फुटबलको विकासको लागि धेरै काम गरेर देखाउने दावी गरे ।
‘यो विशेष साधारणसभाले चयन गर्ने अध्यक्ष र एक उपाध्यक्षसहित सबैको कार्यकाल अब करिब १ बर्ष मात्र बाँकी रहन्छ’, उनले जानकारी गराउँदै भने, ‘यो १२ महिना मलाई काम गर्ने मौका प्रदान गर्नूस्, एन्फाले चाह्यो भने धेरै गर्न सक्दो रहेछ भन्ने प्रमाणित गरेर देखाइदिनेछु ।’ आफूले नेतृत्व गर्ने मौका पाएमा विदेशबाट आएको सहयोगको बिषयमा सबैले जानकारी पाउने, फुटबल संघ अन्र्गत वितरण गरिने विभिन्न किसिमका पुरस्कार एवम् सम्मानको लागि मापदण्ड एवम् निर्देशिका निर्माण गर्दै त्यसको लागि छुट्टै समिति निर्माण गरिने र खेलाडी छनौटको लागि समेत छुट्टै मापदण्ड र समिति बनाइने बताए । ‘एन्फा अध्यक्षात्मक प्रणालीमा चल्ने भएपनि म सामुहिक नेतृत्वलाई अघि बढाउनेछु’, हाल उपाध्यक्ष रहेका शेर्पाले भने, ‘म अध्यक्षमा निर्वाचित भएँ भने फुटबल संघ रहेको ४५ वटै जिल्लामा फुटबल एकेडेमी सञ्चालनको निम्ति सुरुमै ५÷५ लाख रुपैँया व्यवस्था गर्नेछु ।’ नेपालको विभिन्न स्थानमा हुने गोल्डकप र अन्य प्रतियोगिताले नेपाली फुटबल धानेको उल्लेख गर्दै उनले इमान्दारिताका साथ काम गरे फुटबल क्षेत्रको विकास हुन समय नलाग्ने स्पष्ट पारे ।
यस्तै एन्फा उपाध्यक्ष किशोर राईले एन्फाको २० बर्ष नेतृत्व गर्दै एसियाली फुटबल महासंघको उपाध्यक्ष सम्म भएका गणेश थापाको पालमा देखिने काम केही नभएको आरोप लगाउँदै कर्माछिरिङ शेर्पा सबैको साझा उम्मेदवार भएको बताए । ‘म सिनियर उपाध्यक्ष भएपनि हामीले साझा उम्मेदवारको रुपमा कर्माजीलाई अघि बढाएका छौँ’, राईले भने, ‘हामी उहाँलाई गणेश थापा जस्तो होइन, वास्तवमै काम गर्ने एक कुशल नेताको रुपमा हेर्न पाउनेछौँ भन्नेमा विश्वस्त छौँ ।’
यस्तै सहायक महासचिव किरण राईले शेर्पाको पक्षमा बहुमत रहेको तर्क गर्दै शेर्पाको नेतृत्वमा एन्फाले फुटबलको धेरै गतिविधि गर्दै फुटबल क्षेत्रको विश्वास गर्ने विश्वास लिए । कात्तिक ८ गते हुने चुनावमा ४५ जिल्लाका प्रतिनिधीको ४५ भोट, ए, बी र सी डिभिजनका क्लवको २० भोटसहित एन्फा पदाधिकारी र रेफ्रीहरुको समेत गरी ६९ भोट रहेको छ ।
