योजना तर्जुमा र प्रस्तावना लेखन तालिम सुरु
हेटौंडा, ७ असोज/हेटौँडा २८, २९ नम्बर वडा स्थित बसामाडीका महिलाहरुलाई लक्षित गरी सहभागिता मूलक योजना तर्जुमा र प्रस्तावना लेखन सम्बन्धी दुईदिने तालिम शुक्रबारबाट बसामाडीमा सुरु भएको छ ।
स्थानीय निकायबाट विनियोजन हुने बजेटका क्षेत्र, प्रतिशत, बजेट विनियोजन हुने प्रक्रिया, प्रस्तावना तयार पार्ने तरिका र पेश गर्न सकिने निकायबारे जानकारी गराउन मकवानपुर महिला समूहले कार्यक्रमको आयोजना गरेको हो । समुदायको अगुवईमा सामुदायिक पुर्ननिर्माण कार्यक्रम परियोजना अन्तर्गत सोही स्थानमा निर्माण भएको महिला सुरक्षित स्थानको भवनमा सेफ सेन्टरका सदस्यहरुको उपस्थितिमा कार्यक्रम भइरहेको छ । कार्यक्रम मार्फत त्यहाँका महिलाहरुलाई स्थानीयस्तरमा हुने विकास निर्माणमा सहभागी गराउन
प्रेरणा दिने लक्ष्य राखिएको आयोजकले जनाएको छ । कार्यक्रम अन्तर्गत सहभागितामूलक योजना तर्जुमाका १४ चरण, प्रस्तावना लेखन जस्ता विषयमा सैद्धान्तिक तथा प्रयोगात्मक रुपमा संस्थाका फिल्ड अफिसर शुभलक्ष्मी विश्वकर्मा, सामाजिक परिचालकहरु विष्णुमाया तितुङ र मञ्जु लामाले सहजीकरण गरेको छन् । यसै विषयमा कार्यक्रम महिला सुरक्षित स्थानका भवन निर्माण भएका स्थानहरु क्रमशः हाँडीखोला, पदमपोखरी, चुरियामाई र हटियामा पनि सञ्चालन गरिने मकवानपुर महिला समूहका कार्यक्रम संयोजक निशा लामाले बताइन् ।

