किर्ते आरोपमा ३ स्वास्थ्यकर्मी पक्राउ
हेटौंडा, ३० भदौ/किर्ते कागजात गरी सरुवा भएको आशंकामा ३ स्वास्थ्यकर्मीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।
मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय हेटौंडाले असार र भदौ महिनाको रौतहट जिल्लाको पत्र अनुसन्धान गर्ने क्रममा किर्ते कागज बनाएर सरुवा भएको फेला परेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको हो । रौतहटबाट विभिन्न जिल्लामा सरुवा भएका २ अनमी, २ अहेव र १ हेल्थ असिष्टेन्टको सरुवा पत्र किर्ते भएको शंका गरिएको छ ।
क्षेत्रीय निर्देशकले मात्रै सरुवा गर्न पाउने नीतिगत व्यवस्था भए पनि निमित्त क्षेत्रीय निर्देशकको हस्ताक्षरमा ५ जना कर्मचारी सरुवा भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । किर्तेमा संलग्न भएको आशंका भएका ३ जनालाई क्षेत्रीय स्वास्थ्य कार्यालयमा बोलाई अनुसन्धानका लागि प्रहरीको जिम्मा लगाइएको र २ जना सम्पर्कमा नआएको क्षेत्रीय स्वास्थ्य निर्देशानालय हेटौंडाका निर्देशक डा. रमेशविक्रम सिंहले बताए । स्वास्थ्यकर्मी पक्राउपछि दिउँसो घटनाबारे बुझ्न गएका आधिकारिक ट्रेड युनियन र पेशागत ट्रेड युनियनका प्रतिनिधिलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनीहरुले घटनामा क्षेत्रीय स्वास्थ्य निर्देशनालयका कर्मचारीको संलग्नता भएकाले उनीहरुलाई कारबाही हुनुपर्ने माग गरेका छन् । क्षेत्रीय निर्देशनालयको प्रारम्भिक अनुमानमा ३१ जना कर्मचारी किर्ते कागजातका आधारमा सरुवा भएकाले थप कागजात अनुसन्धान थालिएको छ । किर्ते कागजातका आधारमा सरुवा भएको भन्दै ३ जना स्वास्थ्यकर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।
घटनामा संलग्नता रहेको आशंकामा पक्राउ पर्नेमा रौतहटबाट ललितपुर सरुवा भएकी अनमी मन्दिराकिर्ते आरोपमा ३ स्वास्थ्यकर्मी पक्राउ श्रेष्ठ, सर्लाही सरुवा भएका अहेव दिनेशप्रसाद शाह र पर्सा सरुवा भएका हेल्थ असिष्टेन्ट राजकिशोर यादव रहेका छन् । क्षेत्रीय स्वास्थ्य निर्देशनालयले भने उनीहरुको नाम दिन चाहेन । क्षेत्रीय स्वास्थ्य निर्देशक डा. रमेशविक्रम सिंहले अरु पनि कर्मचारी किर्ते कागजमा सरुवा भएको हुन सक्ने र यसमा गिरोहको हात रहेको हुन सक्ने भन्दै अनुसन्धानका लागि प्रहरीलाई जिम्मा लगाएको बताए ।
उनले स्वास्थ्य क्षेत्रमा रहेका गिरोह कारवाहीमा पर्ने दावी समेत गरे । आधिकारिक ट्रेड युनियनका जिल्ला अध्यक्ष विष्णुप्रसाद अर्याल, उपाध्यक्ष राजकुमार अर्याल, नेपाल समाजवादी स्वास्थ्यकर्मी संघका केन्द्रीय संयोजक उत्सव चौलागाई, नेपाल स्वास्थ्यकर्मी संघका जिल्ला अध्यक्ष रामआदर पाण्डे, लक्ष्मण दाहाल,
दिपकराज मिश्र, यादवेन्द्र पौडेलसहितका नेताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको उत्सव चौलागार्इंले जानकारी दिए ।
क्षेत्रीय स्वास्थ्य निर्देशनालयमा क्षेत्रीय निर्देशकसँग घटनाबारे बुझ्न गएका उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा लगिएको उनको भनाई छ ।

