संविधान कार्यान्वयनमा जटिलता ः शिक्षा मन्त्री पौडेल
हेटौंडा, ३० भदौ/शिक्षा मन्त्री धनिराम पौडेलले संविधान कार्यान्वयनमा चुनौती एवम् जटिलता रहेको बताएका छन् ।
संविधान संशोधनले मात्र यसको कार्यान्वयन हुन नसक्ने भन्दै उनले स्थानीय निकायको चुनाव भए धेरै हदसम्म संविधान कार्यान्वयन हुने उनको भनाइ थियो । बिहीबार मकवानपुरलाई साक्षर जिल्ला घोषणा गर्दै उनले डेढ बर्षभित्रमा स्थानीय निकाय, प्रदेश र संसद् निर्वाचन हुनु आवश्यक रहेकोमा उनले जोड दिए । मकवानपुर साक्षर जिल्ला भएको प्रसङ्गमा उनले साक्षरलाई शिक्षित बनाउनु आवश्यक रहेको औँल्याए ।
‘निरक्षर हुनुभन्दा साक्षर हुनु धेरै हदसम्म राम्रो हो’ मन्त्री पौडेलले थपे, ‘साक्षरले मात्र जीवन चलाउन मुस्किल छ यसकारण साक्षरलाई निरन्तर शिक्षास“ग जोड्नु अहिलेको आवश्यकता हो ।’ निरक्षरबाट साक्षर बनेकाहरुलाई शिक्षित बनाउने अभियान तर्फ नलगे उनीहरुले जानेका बिषय बिर्सिन सक्ने भन्दै उनले यसतर्फ ध्यान दिनु आवश्यक रहेकोमा जोड दिए ।
साक्षरता घोषणास“गै यो अभियान सकिएको नभई अर्को नयाँ अध्यायको सुरु भएको ठान्नुपर्ने मन्त्री पौडेलको भनाइ थियो । जिल्ला शिक्षा समितिका संयोजक एवम् मकवानपुरका प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर विश्वकर्माको अध्यक्षतामा भएको घोषणासभामा मन्त्री पौडेलले मकवानपुर साक्षर जिल्ला भएको घोषणा गर्दै शिक्षा अधिकारी अम्बिकाप्रसाद आचार्यलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए । सभामा शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठ, अनौपचारिक शिक्षा केन्द्रका निर्देशक दिवाकर ढुङ्गेल, क्षेत्रीय शिक्षा निर्देशक दिनेश श्रेष्ठ, राजनीतिक दलको तर्फबाट राप्रपा नेपालका केन्द्रीय सदस्य नवराज बिष्टलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमका वक्ताहरुले यस अभियानलाई सार्थकता दिन सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्नुपर्ने र साक्षर हुन बाँकी रहेकाहरुलाई साक्षर बनाउन आवश्यक पहल गर्नुपर्ने सुझाव दिएका थिए । शिक्षा अधिकारी अम्बिकाप्रसाद आचार्यका अनुसार मकवानपुरमा १५–६० बर्ष उमेर समूहका २ हजार ४ सय ४७ जना मात्र साक्षर हुन बाँकी रहेका छन् । २०६८ को जनगणना अनुसार ३ लाख ८२ हजार २ सय ६८ जना जनसङ्ख्या
रहेको मकवानपुरमा १५–६० उमेर समूहका २ लाख ३८ हजार ४ सय ९७ जनामध्ये ९८ दशमलव ९७ प्रतिशत साक्षर रहेका छन् । साक्षर मकवानपुर घोषणाको क्रममा विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान एवम् पुरस्कार प्रदान गरिएको छ । जिल्लामा पहिलो पटक साक्षर गाविस घोषणा भएको भैँसे गाविस, छतिवन श्रीपुर छतिवन गाविस सचिव शिवराम बोहोरा, समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठ, साझाकुरा दैनिकका सम्पादक सवीन न्यौपाने, मकवानपुरका सहायक शिक्षा अधिकारी शम्भुप्रसाद पौडेल, कार्यालय सहयोगी कर्मचारी पार्वती न्यौपाने, राईगाउँ सामुदायिक अध्ययन केन्द्र, शिक्षा कार्यालयका सब इञ्जिनियर अमर श्रेष्ठलाई सम्मान गरिएको हो । यस्तै मकवानपुरबाट प्रकाशनमा रहेका दैनिक पत्रिका र यहाँ सञ्चालनमा रहेका रेडियो तथा टिभीलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।
