Header Ads


पास भयो मउवा संघको मेलाको हिसाब

केहीदिनमै पत्रकार सम्मेलन गर्ने तयारी
हेटौंडा, २३ भदौ/मकवानपुर उद्योग वाणिज्य संघले गत फागुनमा सञ्चालन गरेको राष्ट्रिय औद्योगिक व्यापार मेलाको हिसाब ६ महिनापछि पास भएकोछ । पटक पटकको प्रयासपछि बुधबार भएको कार्यसमिति बैठकले मेलाको हिसाब पास गरेको हो ।
 संघले अब केहीदिनमा नै पत्रकार सम्मेलन गरी मेलाको हिसाब सार्वजनिक गर्ने तयारी गरेको बुझिएको छ । बैठकममा निकै चर्काचर्की पछि मेलाको हिसाब पास भएको संघका एक कार्य समिति सदस्यले जानकारी दिए । बैठकमा सबैभन्दा बढी हेलिकप्टर र खानाको हिसाब पास गर्ने बिषयमा रस्साकस्सी परेको थियो । 
संघका कार्यसमिति सदस्य हेलिकप्टर तथा मनोरञ्जन समितिका संयोजक उज्वल चौलागाईको नाममा एकलाख ३२ हजार रुपैँया पेश्की रहने गरी हिसाब पास भएको संघका एक कार्यसमिति सदस्यले जानकारी
दिए । ‘उज्वल जीले २२ जना मान्छेलाई निशुल्क चढाएको भनेर एकलाख ३२ हजार रुपैँयाको बिल तेस्र्याउनुभएको थियो’, उनले भने, ‘त्यो बिल पास नभएपछि उहाँको नाममा एकलाख ३२ हजार रुपैँया बक्यौता रहने, एकहप्ताभित्रमा तिर्नको लागि समय दिने र नतिरे बक्यौता बाँकी देखाएरै पत्रकार सम्मेलन तथा साधारणसभामा जाने निर्णय भएको छ ।’ चौलागाईँले बैठकमा कामको लोड र पहिलो पटक धेरै जिम्मेवारी लिएको कारण आफूबाट जानी नजानी गल्ती भएको र केहीदिन भित्रै एकलाख ३० हजार रुपैँया तिर्ने प्रतिबद्धता जनाएको ती सदस्यको भनाइ छ । मेलाको समयमा मेला आयोजना स्थल हुप्रचौरमा नै मेस सञ्चालन गरिएको र उक्त मेसमा ६ लाख रुपैयाँ खर्च निस्केको भए पनि विभिन्न होटलमा समेत खाना र खाजाको नाममा करिब ८ लाख रुपैँयाको बिल आएको जानकारीमा आएको छ । यता मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेले भने बुधबारको बैठकले सौहार्दपूर्ण रुपमा मेलाको हिसाब पास भएको जानकारी दिँदै केही दिनभित्रै पत्रकार सम्मेलन गरी हिसाब सार्वजनिक गरिने प्रतिक्रिया दिए । ‘मेलाको समयमा हामीले अनावश्यक खर्च गरेका छैनौँ । काम गर्ने क्रममा केही गल्ती कमी कमजोरी भएको हुनसक्छ’, उनले भने, ‘पत्रकार सम्मेलनमार्फत नै सबै बिषय एकैपटक जानकारी गराइनेछ ।’ अध्यक्ष न्यौपानेले कार्य समिति सदस्य उज्वल चौलागाईँले एकलाख ३२ हजार नभई २२ हजार रुपैँया मात्र तिर्नुपर्ने बताए । कार्यसमितिकै पदाधिकारीबाट पटक पटक असहयोग हुनु दुर्भाग्य भएको तर्क गर्दै उनले सबैको असहयोगका बीच पनि संघले मेलाबाट राम्रो आम्दानी–खर्च गर्न सफल भएको दावी गरे ।
Powered by Blogger.