आजबाट क्यान इन्फोटेक
हेटौंडा, ९ असोज÷कम्प्युटर एशोसियसन अफ नेपाल मकवानपुरको आयोजनामा आज सोमबारबाट हेटौंडामा क्यान इन्फोटेक मेला–२०१६ हुँदैछ ।
हेटौंडाको भूटनदेवी स्कूलको चौरमा हुने मेलाको सम्पूर्ण तयारी सकिएको आयोजकले जानकारी दिएको छ । आजदेखि असोज १९ गतेसम्म हुने मेलाको सबै तयारी सकिएको कम्प्युटर एशोसियसन अफ नेपाल मकवानपुरका अध्यक्ष सन्तोष पाण्डेले जानकारी दिए । उनका अनुसार मेलामा कम्प्युटर इन्स्टिच्युट, कम्प्युटर हार्डवेयर, कम्प्युटर कन्सल्टेन्सी, सोलार सामग्री, विभिन्न कलेजहरुको प्रदर्शनी लगायत जम्मा ७० वटा स्टलहरु रहने छ । मेलाको मुख्य आकर्षणको रुपमा रोबोट र एस्ट्रोनोमी रहेको पाण्डेले बताए । मेला अवधिभर राष्ट्रिय कलाकारहरु, एमएसआई फिफा गेम पनि रहने छ । क्यान मकवानपुरका निवर्तमान अध्यक्ष अनुपकुमार अग्रवालका अनुसार मेलाको दोस्रो दिन अर्थात ११ गते जिल्लामा आइटिसँग सम्बन्धित विभिन्न व्यक्तित्वहरुलाई साइबर अपराधको विषयमा प्रशिक्षण दिइने छ । मेलाका साँस्कृतिक संयोजक राजु देउलाका अनुसार मेलामा राष्ट्रिय कलाकारहरु कमल खत्री, मिलन अमात्य, शिखर सन्तोष, अर्जुन घिमीर (पाँडे), कुमार कट्टेल (जिग्री), प्रमोद खरेल, युवराज चौलागाईँ, पशुपति शर्मा, शिव परियार लगायतको प्रस्तुती रहने छ । करिब २० लाखको खर्च अनुमान गरिएको मेलामा कम्प्युटरको मात्र जम्मा २० वटा स्टल रहने क्यान मकवानपुर सचिव पुष्पराज पुडासैनीको भनाई छ ।

