ढकालको नेतृत्वमा हाँडीखोलामा एम्बुलेन्स खरिद् अभियान
हेटौंडा, १ कात्तिक/केही हप्ता अघि मात्र हाँडीखोला स्वास्थ्यचौकीलाई भिडियो एक्सरे मेसिन हस्तान्तरण गरेका हाँडीखोला प्रवासी समूहले एम्बुलेन्सको लागि रकम संकलन अभियान थालनी गरेको छ ।
हाँडीखोला घर भै हाल बेलायत बस्दै आएका समाजसेवी चिरञ्जिवी ढकालको पहलमा सुरु भएको एम्वुलेन्स सहयोग कार्यक्रमलाई हाँडीखोला प्रवासी समूहले पनि समन्वय र सहयोग गरिरहेको छ । एम्बुलेन्स खरिद्का लागि बेलायतबाट ढकालले अभियान चलाइरहेका छन् भने हाँडीखोला घर भै काम तथा रोजगारीको शिलशिलामा विभिन्न मुलुकमा पुगेका प्रवासी युवाहरुले पनि सक्दो सहयोग गरिरहेका छन् ।
एम्बुलेन्स खरिद् अभियानका लागि ढकालले एकलाख ११ हजार एकसय ११ रुपैंया सहयोग गरेका छन् । उनले यसअघिको भिडियो एक्सरे मेसिन खरिद्का लागि पनि ५१ हजार रुपैंया सहयोग गरेका थिए । एम्बुलेन्स
खरिद्को लागि यूएइबाट नारायणप्रसाद पौडेलले ६० हजार, अष्टे«लियाबाट राजकुमार अधिकारीले ५० हजार एक, अरुण÷अनिल÷अखिल पुडासैनीबाट ३३ हजार ३ सय ३३ रुपैंया सहयोग भएको छ ।
यस्तै अन्य ५४ जनाबाट करिब ८ लाख रुपैंया सहयोगको प्रतिबद्धता आइसकेको हाँडीखोला प्रवासी समूहका अभियन्ता सञ्जिव पाठकले जानकारी दिए । ‘आफ्नो गाउँठाउँको लागि सहयोग गर्नुपर्छ भन्ने उद्देश्यका साथ हाँडीखोलालाई एम्बुलेन्स सहयोग गर्ने अभियान थालेका छौं’, बेलायतमा रहेका ढकालले भने, ‘यसको लागि हाँडीखोला प्रवासी समूहबाट समेत राम्रो सहयोग भैरहेको छ ।’
मङ्सीरको अन्तिम सम्ममा हाँडीखोलालाई एम्बुलेन्स हस्तान्तरण गर्ने योजना रहेको उनको भनाई छ । मकवानपुरको सदरमुकाम हेटौंडासंग नजिकै रहेर पनि राप्तिखोला र भौगोलिक अवस्थाको कारण दुर्गम झैं बनेको हाँडीखोलामा एम्बुलेन्सको आवश्यकता महसुस गरेर आफ्नो पहलमा अभियान थालनी गरेको जानकारी दिंदै ढकालले सबैको सहयोग पाए आगामी दिनमा यस्तै सामाजिक अभियानले निरन्तरता पाउने बताए । हाँडीखोला प्रवासी समूहका अभियन्ता सञ्जिव पाठकले एम्बुलेन्सको लागि धेरैले सहयोगको प्रतिबद्धता जनाइरहेको र रकम समेत संकलन भैरहेको बताउँदै यस अभियानलाई सफल बनाउन प्रवासी समूहको तर्फबाट कुनै कसर बाँकी नरहने बताए ।
हाँडीखोला स्वास्थ्यचौकीका अहेब ज्योतिराज लुईंटेलले प्रवासीहरुबाट हाँडीखोलामा भएको सामाजिक कार्यको प्रशंसा गर्दै एम्बुलेन्सको अभावमा धेरैले अकालमा ज्यान गुमाउनुपर्ने बाध्यात्मक अवस्था रहेको बताए । ‘पछिल्लो समय हाँडीखोला जोड्ने झोलुङ्गे पुल बनेकोले यहाँका बासिन्दालाई सहज भएको हो’, उनले भने, ‘यहाँको लागि एम्बुलेन्स आवश्यक छ । प्रवासीहरुले थालेको यस अभियानलाई हामी हाँडीखोलाका बासिन्दा सहयोग गर्न तयार छौं ।’ यस अभियानको लागि विभिन्न मुलुकमा रहेका हाँडीखोलाका अखिल पुडासैनी, सुदर्शन अधिकारी, श्रीराम रिजाललगायतका युवाहरु लागि परिरहेका छन् ।

