साहारा ग्यास ‘लिक’ हुँदा आगलागी
हेटौंडा, ११ कात्तिक/बुधबार दिउँसो नापी कार्यालय हेटौंडा बसेको घरमा भएको आगलागी साहारा कम्पनीको ग्यास सिलिण्डर लिकका कारण भएको पाइएको छ ।
घटनास्थलमा फुटेको अवस्थामा भेटिएको ग्यासको सिलिण्डरको आधारमा उक्त घटना साहारा ग्यास कम्पनीकै लापरबाहीको कारण भएको पाइएको हो । नापी कार्यालय भएको भवनमा निलकुमारी दाहालले सञ्चालन गरेको पसलबाट आगलागी सुरु भएको थियो । दाहालले प्रहरीलाई दिएको जानकारी अनुसार चिया पकाउने क्रममा ग्यास लिक भएको थियो । ग्यास लिक भएकै कारण आगलागी सुरु भएको दाहालको दावी छ ।
उनले आफ्नो होटलमा साहारा कम्पनीको ग्यास प्रयोग गर्दै आएको खुलाएकी छिन् । यता आगलागी सुरु भएको समयमा घटनास्थलमा पुगेका हेटौंडाका व्यवसायी अञ्जनीकुमार पराजुलीले पनि साहारा कम्पनीको ग्यासको सिलिण्डरको लापरबाहीकै कारण घटना भएको दावी गरे । ‘मेरो एकजना साथीले होटलबाट आगो लाग्यो भनेपछि म दौडिएर होटलमा पुगेको थिएँ, हामीले ‘रेगुलेटर अफ गर्ने प्रयास पनि नगरेका हैनौं’, पराजुलीले भने, ‘तर आगो सल्केर रेगुलेटरसम्मै पुगिसकेका कारण हामी ज्यान जोगाउन बाध्य भयौं ।’
घटनाको क्रममा पड्केको ३ वटा सिलिण्डर मध्ये आगलागी सुरु भएको सिलिण्डर साहारा कम्पनीकै भएको उनको दावी छ । ‘३ वटा पड्केको र २ वटा ग्यास लिक भएर गएको खाली सिलिण्डर हेर्ने हो भने सबै साहारा कम्पनीकै रहेको छ’, पराजुलीले भने । यस्तै घटनापश्चात उद्वारको क्रममा पुगेका तरुण दल हेटौंडा नगर कमिटीका अध्यक्ष सुनिल गिरीले पनि घटनास्थलमा भेटिएका सिलिण्डरहरु हेटौंडा–२८ बसामाडीमा
रहेको साहारा ग्यास कम्पनीकै भएको दावी गरे । यता जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख मीरा चौधरीले ग्यास लिक भएकै कारण आगलागी भएको खुल्न आएको बताउँदै कुन कम्पनीको ग्यास कम्पनी भने आफ्नो जानकारीमा नआएको बताइन् । ‘ग्यास लिक भएकोले घटना भएको कुरा प्रत्यक्षदर्शी र सम्बन्धित व्यक्तिबाट समेत आएको छ’, उनले थपिन्, ‘यस बिषयमा हामी थप अनुसन्धान कै क्रममा रहेका छौं ।’

